काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले केही दिन विद्यालय शिक्षा विधेयकलाई केही समय रोक्नुपर्ने धारणा राखेका छन्।परिस्थिति जटिल बनेको भन्दै उनले यस्तो धारणा राखेका हुन्।
अन्तिम समयमा नेपाल शिक्षक महासंघका प्रतिनिधिहरूले केही असन्तुष्टि राखेको भन्दै शिक्षामन्त्री पन्तले विधेयकलाई केही दिन रोक्न समय मागेका छन्। प्रतिनिधि सभाअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्रीले समय मागेका हुन्।
शिक्षक महासंघका प्रतिनिधि र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतसँग पनि छलफल गरेका उनले बैठक सुरु हुनासाथ स्थगित गर्ने प्रस्ताव गरेका थिए। विधेयक पारित गर्नुपर्ने पक्षमा रहेका सांसदहरुले भने उनको प्रस्तावमा आपत्ति जनाएका थिए।
‘सरकारले अहिले नगर्नु भनेको कुरा गर्नैपर्छ भनेर संसदीय अभ्यासमा भएको छैन’ मन्त्री पन्तले भने, ‘संसदीय प्रणालीमा सरकारको तर्फबाट मन्त्रीले यसलाई रोकौं भनेपछि त्यो विधेयकको रुपमा जाँदैन।’ उनले दुई तीन दिनको समय माग्दै सांसदहरुलाई पर्खन आग्रह गरे।
बैठकमा कांग्रेस प्रमुख सचेतक श्यामलाल घिमिरेले बैठक स्थगित गर्नुपर्ने बताएका थिए। उनले ८० प्रतिशत माग सम्बोधन भइसकेको अवस्थामा २० प्रतिशतका लागि सडकमा जानुपर्ने अवस्थाको सिर्जना गर्न नहुने बताए।
पूर्व शिक्षामन्त्री तथा रास्वपा सांसद सुमना श्रेष्ठले भोट बैँक बचाउनको लागि शिक्षासँग खेलबाड गर्न नमिल्ने बताएकी थिइन्। माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले कानुन बनाउन पाउने संसद्को अपमान भएको बताए। अन्तिममा आएर बैठक स्थगित गर्नु दुःखद भएको उनले टिप्पणी गरे। माओवादी केन्द्रका सांसदद्वय रेखा शर्मा र ज्ञानु बस्नेत सुवेदीले विधेयक टुङ्गो लगाउन नखोजिएकोमा कुनै षड्यन्त्र भइरहेको भन्दै आशंका व्यक्त गरे।
एमाले सांसद प्रभु हजाराले शिक्षकहरूको आन्दोलन ‘हावादारी’ भएको टिप्पणी गरेका थिए। आन्दोलनबाट होइन संसद्ले विधेयक बनाउनुपर्ने उनको भनाइ थियो। पूर्व शिक्षामन्त्री तथा एमाले सांसद विद्या भट्टराईले पहुँचवालाको प्रभावमा विधेयक अड्काउने काम गर्न नहुने बताइन्।समितिका सभापति अम्मरबहादुर थापाले तोकिएको अर्को कुनै दिन बस्नेगरी बैठक स्थगित भएको जानकारी दिएका थिए।