काठमाडौँ - त्रिभुवन विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विश्वविद्यालयमा प्रधानमन्त्री, मन्त्रीलाई कुलपति र सहकुलपति बनाउन नहुने बताएका छन्।
त्रिभुवन विश्वविद्यालयको ६६ औँ वार्षिकोत्सवमा सहकुलपति पन्तले यो हटाउनु पर्ने प्रस्ताव पनि आफूले राख्ने गरेको बताए। ‘म यो प्रधानमन्त्री, मन्त्री विश्वविद्यालयमा कुलपति र सहकुलपति बन्नुपर्छ भन्ने मान्यताको मान्छे होइन। कतिपय विश्वविद्यालय आएका छन्। यो हटाउनु पर्छ भन्ने प्रस्ताव गर्ने मान्छे हुँ,’ उनले भने।
त्रिवि भने पहिलो इतिहास बोकेको विश्वविद्यालय भएकाले प्रधानमन्त्री र मन्त्री कुलपति र सहकुलपति रहेको बताए। मन्त्री पन्तले त्रिविको पदाधिकारी नियुक्तिको विषय पनि उठाए। ‘प्राध्यापकलाई भीसी, रेक्टर, रजिस्ट्रार, डिन, विभागीय प्रमुख नियुक्त गर्दा राजनीतिक सर्टिफिकेटलाई आधार बनाउनु पर्यो भने विश्वविद्यालय जान्छ। हामी त्यही नियति भोगिरहेका छौँ,’ मन्त्री पन्तले भने, ‘सेवा आयोग खाली छ। आयोगमा निश्चित मापदण्डको आधारमा अध्यक्ष आइदिउन भन्ने चाहना छ। तर कति सफल हुन सक्छु थाहा छैन। संयुक्त सरकार छ। लिमिट भित्र रहेर काम गर्नुपर्ने छ तर प्रयत्न गर्नुपर्छ।’
विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेप र स्वार्थ पूरा गर्ने थलो बनाउन नहुने उनले बताए। विश्वविद्यालयमा लगाएको ताला अदालतले खोल्न आदेश दिनुले पनि त्रिविमा जटिलता रहेको उनको भनाइ छ। ‘हिजो अदालतको फैसलाले ताला खोल्नु भनेपछि आज कतै-कतै ताला खुल्ने सुन्दै छु। त्रिविमा जटिलता छ। अफ्ठ्यारो छ,’ उनले भने, ‘जटिलता हटाउनु पर्छ। सबै मिल्यौँ भने विश्वविद्यालयको इतिहासलाई पुनर्स्थापना गर्न सक्छौँ। गलत राजनीतिबाट मुक्त गर्नुपर्छ।’
विश्वविद्यालयलाई अनुसन्धानमुखी बनाउन मन्त्री पन्तले आग्रह गरे। ‘विश्वविद्यालयको मुख्य पाटो अनुसन्धान हो। सर्टिफिकेट महत्त्वपूर्ण कुरा होइन। जागिरको लागि पेस गर्न काम लाग्ला तर प्रमाणपत्र बोक्नेले ज्ञान र प्रज्ञालाई बोक्न सकेनन् भने शिक्षा प्रणाली फेल हुन्छ,’ मन्त्री पन्तले भने।
त्रिविले देशलाई चाहिने जनशक्ति उत्पादन गरिरहेको पनि उनले बताए। ‘ज्ञान र प्रविधि दुवै स्थिर भएर रहँदैन। पुर्खाले प्राप्त गरेको ज्ञानले आजको दुनियाँ चल्दैन। हामीले प्राप्त गरेको ज्ञानले भविष्यको पुस्ता अगाडि बढ्न सक्दैन। ज्ञान र विज्ञानको निरन्तरता हुन्छ। नेपालको ज्ञान निर्माणमा त्रिविले खेलेको भूमिका पर्याप्त नहोला तर पहिलो विश्वविद्यालय हो। यो गौरवको कुरा हो,’ मन्त्री पन्तले भने।
त्रिविले आफ्नो ६६ औँ वार्षिकोत्सव स्मृति भवनमा मनाएको छ। कार्यक्रममा उपकुलपति खड्ग केसी, रेक्टर दुविनन्द ढकाल, रजिस्ट्रार केदार प्रसाद रिजाल, डिन, क्याम्पस प्रमुख, त्रिविका कर्मचारी लगायतको उपस्थिति थियो।