काठमाडौँ - सोमबार राति चीनबाट आएको बाढीमा परेर रसुवामा १८ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा ९ नेपाली नागरिक, ८ चिनियाँ नागरिक र तीन जना प्रहरी रहेका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले ९ जनाको उद्धार गरेको छ। सशस्त्र प्रहरी बलका अनुसार, बेपत्ता हुनेमा नेपाल प्रहरी अन्तरगत इलाका प्रहरी कार्यालय, टिमुरेमा कार्यरत् प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा छन्।
बेपत्ता हुनेमा ६ जना चिनियाँ नागरिक छन्। सशस्त्र प्रहरीबाट उपलब्ध सूची अनुसार, बेपत्ता हुने चिनियाँ नागरिकहरुमा YU YUE, LI HUAQING, YANG CHUAN, YU HAI HANG, YOU XIAO QIU र JOU YONG छन्। बेपत्ता हुने नागरिकहरुमा बर्दिया स्थायी घर भएका जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारु, लक्ष्मीनारायण थारु, सुरेश थारु, बाग्लुङका नरेन्द्र विक, कन्टेनर चालक फुर्वा लामा, मिक्चर चालक गोविन्द मोक्तान, हाइलक्स चालक लोकमान तामाङ छन्।
यस बाहेक नदीको बीचमा फसेका ९ जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बताए। ‘अन्यको पनि खोजी कार्य जारी छ’, उनले भने। बाढीले रसुवागडी हाइड्रोपावर, भन्सारसहितका स्थानमा क्षति गरेको छ। सुख्खा बन्दरगाहका ७ वटा इभी गाडी समेत बगेको छ। अहिले प्रभावित स्थानमा खोज तथा उद्धार कार्य जारी छ।

त्यस्तै रसुवागढी भन्सार र निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाह क्षेत्रमा १ सय भन्दा बढी गाडी बगेको प्रारम्भिक अनुमान गरिएको छ।नेपाल इन्टरमोडलर विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार यसरी बगेकामध्ये अधिकांश मालवस्तु बोकेका सवारी साधन छन्।
इभी गाडी भने केही पर रहेका कारण कम क्षति पुगेको अनुमान गरिएको छ। यार्डमा २३० वटा सवारी साधन पार्किङ गरेर राखिएको थियो। केही गाडीहरु राति नै माथि सारिएको स्राेतले जानकारी दिएको छ।