काठमाडाैँ - काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२ - ८३ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीको प्रवेश परीक्षा भाेली शनिबार( साउन ३) गते हुदैँ छ। महानगरले तीन वर्षदेखि सञ्चालित छात्रवृत्ति कार्यक्रम मार्फत आर्थिक रूपमा कमजोर तर शैक्षिक रूपमा सक्षम विद्यार्थीलाई अवसर प्रदान गर्दै आएको छ।
यस वर्षको प्रवेश परीक्षाका लागि देशभरिका ७७ जिल्लाबाट प्राप्त १७ हजार २ सय २९ आवेदनमध्ये १६ हजार १ सय ३७ विद्यार्थी छनोट भएका छन्। छनोट भएका विद्यार्थीमा विज्ञान संकायका लागि ११ हजार ५ सय ९०, व्यवस्थापनका लागि ४ हजार १ सय ६४, मानविकीका लागि ३२, शिक्षाका लागि ९५ र कानुन संकायका लागि २ सय ५६ जना समावेश छन्।
छात्रवृत्ति प्रवेश परीक्षा भोलि शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ। परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित हुनेछ, जसमा अनिवार्य गणित, विज्ञान र अंग्रेजीबाट ३०-३० र सामान्य ज्ञानबाट १० गरी कुल १ सय बहुवैकल्पिक प्रश्न सोधिनेछन्।
उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अंक आवश्यक छ र गलत उत्तरका लागि नकारात्मक अंकन गरिने छैन। छनोट भएका विद्यार्थीले १ साउनदेखि महानगरको आधिकारिक वेबसाइट मार्फत प्रवेशपत्र डाउनलोड गर्न सक्ने छन्।
महानगरको शिक्षा विभागले परीक्षा व्यवस्थित र मर्यादित बनाउन केन्द्राध्यक्षहरूलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञवाली र शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले परीक्षा सञ्चालन, सुरक्षा व्यवस्था, प्रश्नपत्रको गोप्यता, उत्तरपुस्तिका व्यवस्थापन र अनुशासन सम्बन्धी प्रस्तुतीकरण गरेका थिए। अभिमुखीकरणमा सहरी योजना आयोग सदस्य, सहायक विज्ञ, शिक्षा विभागका कर्मचारी र परीक्षा केन्द्रका केन्द्राध्यक्षहरूको सहभागिता थियो।
अभिमुखीकरण सामग्रीमा केन्द्राध्यक्षहरूको जिम्मेवारी, परीक्षा व्यवस्थापन, सम्भावित चुनौती समाधान र सुरक्षात्मक उपाय समेटिएका छन्। केन्द्राध्यक्षहरूले परीक्षा सुरु हुनुभन्दा एक घण्टाअघि नै उपस्थित भई सिट योजना, प्रश्नपत्र र उत्तरपुस्तिकाको सुरक्षा, विद्यार्थी परिचय प्रमाणीकरण र अनुशासन कायम गर्नुपर्ने छ। प्रश्नपत्रको गोप्यता कायम राख्न कडा नियम लागु गरिएको छ र कुनै अनियमितता भए तुरुन्त प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।