काठमाडाैँ - भारत सरकारले नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित पाँच वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाउने भएको छ। उक्त परियोजनाका लागि काठमाडौंस्थित भारतीय राजदूतावास, नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सम्बन्धित कार्यान्वयन निकायबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।
सम्झौता अनुसार कूल अनुमानित ३९ करोड रूपैयाँ बराबरको अनुदानमा पाँचवटा नयाँ परियोजना सञ्चालन गरिनेछ। ती परियोजनामा चार वटा विद्यालय भवन र एक वटा अस्पताल भवन निर्माण समावेश छन्।
भारतीय दूतावासका अनुसार धनुषाको बटेश्वर गाउँपालिका-३ मा जनशक्ति माध्यमिक विद्यालय भवन निर्माण, पर्साको पोखरिया नगरपालिकामा महोवनी पद्म माध्यमिक विद्यालयको निर्माण, अछामको मेल्लेख गाउँपालिकामा बासुकी माध्यमिक विद्यालयको निर्माण, बाराको प्रसौनी गाउँपालिका-२ मा बेंगा साह माध्यमिक विद्यालयको भवन, छात्रावास तथा पुस्तकालयको निर्माण र मनाङको नासोँ गाउँपालिका-५ मा पाँच शय्याको अस्पताल भवनको निर्माण गरिनेछ।
यी परियोजनाहरू सम्बन्धित स्थानीय निकायमार्फत् कार्यान्वयन गरिनेछ। भारतीय दूतावासका अनुसार, यस्ता संरचनाको निर्माणले शिक्षा र स्वास्थ्य सुविधामा पहुँच विस्तार गरी स्थानीय बासिन्दाको जीवनस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सन् २००३ यता भारत सरकारले नेपालभर ५७९ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ। तीमध्ये ७ वटै प्रदेशमा कार्यान्वयन भएका ४९६ परियोजना पूरा भइसकेका छन् भने बाँकी परियोजना निर्माणको विभिन्न चरणमा रहेका दूतावासले जनाएको छ।
नेपालका ७ वटै प्रदेशभरि स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ क्षेत्रमा र सार्वजनिक उपयोगी वस्तुको निर्माणमा परियोजना सम्पन्न भएका दूतावासले जनाएको छ। भारतीय पक्षले नेपालसँगको सहकार्यलाई ‘नजिकको छिमेकी’को नाताले बहुआयामिक सम्बन्धको निरन्तरता भनेको उल्लेख गरेको छ।
परियोजना मार्फत् नेपाल सरकारले निर्धारण गरेका प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकासमा भारत सरकारले निरन्तर साथ दिने बताइएको छ।