टोकियो- गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानको अध्यक्षमा सुभाष लामिछाने विजयी भएका छन्। आइतबार भएको निर्वाचनमा ७ हजार १ सय ५२ मत प्राप्त गरि लामिछाने अध्यक्ष पदमा विजयी भएका हुन्। उनका प्रतिद्वन्दी सिद्धार्थ श्रेष्ठले ५ हजार १ सय ९३ मत प्राप्त गरेका थिए।
त्यसैगरी वरिष्ठ उपाध्यक्ष पदका लागि भएको मतदानमा निबर्तमान महा-सचिब टिकाराम खरेलले ६ हजार ४ सय १८ मत प्राप्त गरी विजयी भएका छन्। वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका निबर्तमान उपाध्यक्ष कृष्ण गैरे शर्माले ५ हजार ९ सय २७ मत प्राप्त गरे।
त्यसैगरी उपाध्यक्ष पदमा भएको मतदानमा ८ हजार ७ सय २ मत प्राप्त गर्दै मुक्तिराम खनाल (विनोद), ६ हजार ९ सय ४९ मतसहित दिलिप कंडेल र ६ हजार सय १ मत सहित दिपक सुनार बिजयी भएका छन्।
उपाध्यक्ष पदकै लागि उम्मेदवारी दिएका नारायण सुवेदीले ५ हजार ९ सय २८, दिपेश खत्री (केसी) ले ५ हजार ७ सय ८३ र रुद्र मल्ल (मनोज) ले ३ हजार ५ सय ७२ मत प्राप्त गरेका थिए।
क्षेत्रीय उपाध्यक्ष पदमा आफ्ना प्रतिद्वन्दी हरिप्रसाद कंडेललाइ पराजित गर्दै विष्णुप्रसाद सुवेदी (विश्व) विजयी भएका छन्। सुवेदीले ६ हजार ९ सय ८३ मत प्राप्त गर्दा कंडेल ५ हजार ३ सय ६२ मत प्राप्त गर्न सफल भए।
त्यस्तै महा–सचिव पदका लागि भएको निर्वाचनमा श्याम कुमार श्रेष्ठ (श्याम शितल) ले ६ हजार ३ सय ८४ मत प्राप्त गरी विजयी भएका छन्। सोही पदका लागि उम्मेदवारी दिएका निवर्तमान प्रबक्ता विश्वास गौतम (खगराज)ले ५ हजार ८ सय ६३ मत प्राप्त गरेर उप-विजेता बने।
त्यसैगरी सचिव पदका लागि ८ हजार ८ मत सहित नेत्र पाण्डे र ५ हजार ८ सय ६३ मत सहित डिल्ली प्रसाद सापकोटा (विष्णु) निर्बाचित भएका छन्।
क्षेत्रीय सचिव पदमा भएको निर्वाचनमा सागर कार्की सर्बाधिक मतान्तर सहित बिजयी भएका छन्। उनी आफ्ना प्रतिद्वन्दी ज्ञानेन्द्र भट्ट (ज्ञानु) लाई ४ हजार ६ सय ८५ मतले पछि पार्दै बिजयी भएका हुन् । कार्कीले ८ हजार ५ सय १५ मत प्राप्त गर्दा भट्टले ३ हजार ८ सय ३० मत प्राप्त गरे।
हिजै सम्पन्न निर्वाचनमा कोषाध्यक्ष पदका लागि उम्मेदवारी दिएका मुक्तिराज रेग्मी निर्वाचित भएका छन्। आफ्ना दुई प्रतिद्वन्दी कृष्णप्रसाद पोखरेल (बाबु) र राकेश लामालाई पछि पार्दै निर्वाचित भएका हुन्।
निर्वाचन समितिले दिएको जानकारी अनुसार रेग्मीले ५ हजार ७८६, पोखरेलले ३ हजार ५३१ र लामाले ३ हजार २८ मत प्राप्त गरेका थिए।
त्यस्तै क्षेत्रीय सह-कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका तीन जना मध्ये ४ हजार ४२४ मत सहित सन्दिप जिसी बिजयी भएका छन्। सोही पदका लागि उम्मेदवारी दिएका रमेश गिरिले ४ हजार २९ मत र नासिरदीन मियाले ३ हजार ८९२ मत प्राप्त गरे।
त्यसैगरी, सदस्य पदमा मिलन अर्याल, कमलेश जीसी, नबिनदीप गुरुङ, रमेशराज जैसी, निराजन मल्ल, कृष्णप्रसाद भूसाल, भिमबहादुर बुढाथोकी, सुरेश सापकोटा, प्रकाश सापकोटा बिजयी भएका छन्।
त्यस्तै, महिला उपाध्यक्षमा अञ्जु भण्डारी, महिला सचिवमा ललिता तामाङ्, सहकोषाध्यक्षमा कामाना भण्डारी, महिला संयोजकमा मञ्जु गिरी त्यसैगरी महिला सदस्यमा इश्वरी अर्याल र सन्तोषी अधिकारी यस अघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।
काे हुन् अध्यक्ष लामिछाने ?
पर्वतको कुश्मामा जन्मिएका लामिछाने सन् २००७ मा जापान पुगेका थिए। व्यवस्थापनमा स्नातक तहको अध्ययनपछि उहाले जापानमा होटल म्यानेजमेन्टको तालिम लिएर सन् २०११ देखि रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका छन्। पर्वत जापान समाजको अध्यक्ष पदमा सर्वसम्मत चयन भएका उनी सन् २०२१-२०२३ मा एनआरएनए प्रवक्ता, र हाल (२०२३-२०२५) उपाध्यक्षको जिम्मेवारीमा थिए।
लामिछाने एनआरएन जापानका उपाध्यक्षको भूमिकामा रहँदा जापानभर १३ वटा घुम्ती सेवा संयोजनमार्फत स्वास्थ्य तथा सामाजिक सहायता कार्यक्रम सञ्चालन गरेका थिए। जसबाट ७ हजारभन्दा बढी नेपाली लाभान्वित भएका थिए। साथै, नेपालमा भूकम्प पीडित विद्यार्थीहरूको शिक्षाका लागि संकलित २३ लाख जापानी येनको शैक्षिक कोष हस्तान्तरण गरेका थिए।