काठमाडाैँ - पाल्पाकाे रामपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित 'हाम्रो रामपुर' पाठ्यपुस्तक निर्माण गर्न तयारी थालेको छ स्थानीय पाठ्यक्रम लागु भएको दुई वर्षपछि पाठ्यपुस्तक निर्माण गर्न लागेको हो।
नगरभित्रका वडा तथा बस्तीको भूगोल, धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्त्वका विषयसँगै आर्थिक, समाजिक, सांस्कृतिक पक्षलाई समेटेर कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि पाठ्यपुस्तक तयार गर्न लागेको हो। नगरपालिकाले स्थानीय पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री निर्माणका लागि कार्यदल गठन गठन गरेको थियो।
कार्यदलले नगरका १० वटै वडामा पुगेर वडा तथा बस्तीको भूगोल, इतिहास , स्थानीय सरकार, सांस्कृतिक सम्पदा, वन वातावरण तथा सरसफाइ, स्थानीय आर्थिक विकासका आधार तथा पर्यटन, सामाजिक विकास, स्थानीय विकासका पूर्वाधार, विपद व्यवस्थापन र सुरक्षा गरी ८ वटा विषय वस्तुमा आधारित रहेर सूचना सङ्कलन गरेको स्थानीय पाठ्यपुस्तक लेखन कार्यदलका संयोजक देवराज देवकोटाले बताए। वडावासीको प्रत्यक्ष सहभागितामा हरेक बस्तीको यथार्थ वस्तुस्थिति बारे जानकारी सङ्कलन गरिएको देवकोटाले बताए।
सङ्कलित सूचनाको आधारमा विषयवस्तु छनाेट गरी पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री लेखन कार्यलाई अगाडि बढाउने कार्यदलले जनाएको छ। नगरपालिकाले शैक्षिक सत्र २०८० मा स्थानीय पाठ्यक्रम निर्माण गरेर लागु गरेको थियो। पाठ्यपुस्तकको आवश्यकता महशुस गरेर यस वर्ष निर्माणको तयारी थालिएको शिक्षा शाखा अधिकृत विकल काफ्लेले बताए। पाठ्यक्रम कार्यान्वयन र प्रभावकारी कक्षा शिक्षणका लागि पाठ्यपुस्तक सहित सन्दर्भ सामग्री निर्माण गर्न लागेको हो।
पठनपाठनमा एकरूपता ल्याउनका लागि स्थानीय पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री निर्माण गर्न लागिएको नगरपालिका प्रमुख रमण बहादुर थापाले बताए। स्थानीय वस्तुस्थितिको बारेमा जानकारी दिन पाठ्यक्रम लागु गरेर पाठ्यपुस्तक निर्माणको काम सुरु गरेको थापाले बताए। स्थानीय शिक्षकहरूको सक्रियता र स्थानीय व्यक्तिहरूसँग सूचना सङ्कलन गरी सबैको सहभागितामा तयार पारिएको पुस्तक वस्तुनिष्ठ, विश्वसनीय र प्रभावकारी हुने भएकाले स्थानीय शिक्षकहरूलाई नै परिचालन गरिएको जानकारी दिए।