काठमाडाैँ - कोहलपुर नगरपालिका भित्र सञ्चालित ४९ वटा संस्थागत विद्यालयहरुले पाँच हजारभन्दा बढी विद्यार्थीहरुलाई छात्रवृति वितरण गरेका छन्। कोहलपुर नगरपालिकामा रहेका एन प्याप्सन, प्याब्सन र क्रिसा बाँकेमा आबद्ध भएका संस्थागत विद्यालयहरुले सो छात्रवृति प्रदान गरेका हुन्।
कोहलपुर नगरपालिकाद्धारा सार्वजनिक गरिएको छात्रवृत्ति वितरणसम्बन्धी विवरणमा नगरपालिकाका ४९ वटा संस्थागत विद्यालयहरुले पाँच हजारभन्दा बढी विद्यार्थिलाई छात्रवृत्ति वितरण गरिएको जनाइएको छ।
कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले जेहेन्दार, द्वन्द्वपीडित, विपन्न, असहाय, महिला, आदिवासी जनजाति, दलित, मधेशी, अपाङ्गता र पिछडिएका समूदायका पाँच हजार १२७ छात्र छात्राहरुलाई संस्थागत विद्यालयहरुले छात्रवृत्ति प्रदान गरेको बताए।
उहाँले चालु आर्थिक वर्ष २०८२–०८३ मा नयाँ भर्ना भएका कक्षा नसर्रीदेखि कक्षा १० सम्म अध्ययन गर्ने कुल बालबालिकाहरु मध्ये १८ प्रतिशतभन्दा बढी बालबालिकालाई छात्रवृत्ति प्रदान गरिएको पाइएको बताए।नगर प्रमुख आचार्यले शैक्षिक अभियानलाई विधिसम्मत बनाउने तथा सामाजिक दायित्व पूरा गर्न सहयोग गर्ने क्रिसा, प्याब्सन, एन प्याब्सन तथा सबै संस्थागत विद्यालयप्रति हार्दिक आभार व्यक्त गरे।
कोहलपुर नगरपालिका भित्र सञ्चालित संस्थागत विद्यालयहरुमा २६ हजार ४७ जना विद्यार्थी अध्ययरत रहेकोमा पाँच हजार १२७ जनाले छात्रवृत्ति पाएका छन्। जसमध्ये जेहेन्दारमा एक हजार ४५१ जना, द्वन्द्वपीडितमा ९४ जना, विपन्न असहायमा ९९५ जना, महिलामा ६९३ जना, आदिवासी जनजातिमा ७३६ जना, दलितमा १४६ जना, मधेशीमा ४४०, अपाङ्गतामा ६४ र पिछडिएको समूदायका १६८ जना बालबालिकाहरुले छात्रवृत्ति प्राप्त गरेका छन्।
धेरै छात्रवृत्ति प्रदान गर्ने विद्यालयमा सबैभन्दा बढी जिवन ज्योती स्कुलले ६३१ जना विद्यार्थीलाई छात्रवृत्ति दिएको छ भने फुलवारी ऐजुकेशन एकेडमीले २६१ जना, बागेश्वरी एकेडमीले २३१ जना र कोहलपुर बागेश्वरी ईंगलिस मिडियम स्कुलले २०३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।
सोही प्रकारले नेपाल एपिएफ स्कुलका सशस्त्र प्रहरीका सन्तती २३३ र बालज्योति मावि कोहलपुरमा अध्ययनरत १०७ जना नेपाली सेनाका सन्ततीलाई समेत आंशिक छात्रवृति प्रदान गरिएको छ।
कोहलपुरका ४९ वटा विद्यालयहरुले करिब १० करोड २५ लाख रुपियाँभन्दा बढी रकम बराबरको छात्रवृत्ति उपलब्ध गराएको कोहलपुर नगरपालिकाले जनाएको छ। कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीले प्रचलित नियमानुसार प्रदान गर्नुपर्ने छात्रवृत्ति प्रदान गरिरहेका संस्थागत विद्यालयहरुको तथ्याङ्क सङ्कलन गरेर सार्वजनिक गरेको बताए।