काठमाडाैँ - काठमाडाैँ स्थित भृकुटीमण्डपमा नेपाल अटोमोबाइल म्यानुफ्याक्चरर्स एन्ड इम्पोर्टर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित ‘नाइमा एक्स्पो - २०२५’ मा ५० भन्दा बढि ब्रान्डका सवारीसाधन राखिएको छ भने ३५ नयाँ भेरिएन्ट सार्वजनिक समेत भएका छन्।
प्रदर्शनीमा विद्युतीय सवारी साधन (ईभी) ब्रान्डका सवारीसाधनहरूको उल्लेख्य उपस्थिति रहेकाे छ। धेरैजसो चाइनिज ब्रान्डका इभी साधनले मेलालाई प्रभुत्वमा राखेको छ। नाइमा नेपालका अनुसार प्रदर्शनीमा १५ वटा दुई पाङ्ग्रे, १५ वटा चार पाङ्ग्रे र ५ वटा कमर्सियल सवारी साधन सार्वजनिक गरिएकाे छ। यीमध्ये धेरैजसो सवारी साधनहरू पहिलोपटक नेपाली बजारमा प्रदर्शनमा आउने छन्।
यस मेलाकाे उदेश्य उपभोक्ताहरूलाई वैकल्पिक ऊर्जा र प्रविधिमा आधारित सवारीको बारेमा प्रत्यक्ष जानकारी प्रदान गर्ने रहेकाे आयाेजकले जनाएकाे छ। मेलामा प्यासेन्जर कारतर्फ टोयोटा, एमजी, बीवाइडी, सिट्रोन, फोरर्थिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्ट्स, हुन्डाई, केई, किया, लिपमोटर, एलएस अटो, महिन्द्रा, म्याक्सस, माज्दा, मित्सुविशी, निसान, ओमोडा÷जेको, प्युजो, प्रोटोन, रेनो, फक्सवागन र जिकरको स्टल रहेकाे छ।
यसैगरी, टु - ह्विलरतर्फ बजाज, होन्डा, रोयल इनफिल्ड, एम्पियर, एथर, बेनेली, सीएफ मोटो, गोगोरो, केटीएम, महिन्द्रा, एनआइयू, रेभोल्ट, सेगवे - नाइनबोट, सुजुकी, ट्रयम्फ, टीभीएस, अल्ट्राभ्वाइलेट, याडिया र जिहो सहभागी भएका छन् भने कमर्सियलतर्फ चेरी वान्डा, डोङफेङ, फारिजोन, हाउजी, कामा, क्यारी, किङलङ र सनलङ ब्रान्ड सहभागी भएका छन्।
मेलामा सवारी साधनको प्रदर्शनीसँगै अन्तरक्रियात्मक कार्यक्रम, प्रविधिसम्बन्धी जानकारीमूलक सत्र, ब्राण्ड प्रमोशन र ग्राहक सन्देश केन्द्रित कार्यक्रमहरू पनि सञ्चालन गरिएकाे छ। टिकट खरिदको सुविधा डिजिटल माध्यम खल्ती र आईएमईपेमा उपलब्ध रहेको आयोजकले जनाएको छ। एक्स्पोलाई आयातकर्ताका लागि सवारीसाधन बेच्ने माध्यम मात्र नभई उपभोक्तालाई पनि प्रभाव पार्ने र चेतना जगाउने थलो बनाउने प्रयास गरिएको नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले जानकारी दिइन्।