काठमाडाैँ - ‘मेची पारिको नेपाल’ भनेर चिनिएको झापाकाे मेचीनगर नगरपालिका-१५ स्थित ग्वालबस्तीको मेची आधारभूत विद्यालयमा पठनपाठन ठप्प भएकाे छ।विद्यालयमा मेची नदीमा पुल नभएका कारण बर्खाको समयमा शिक्षक विद्यालय पुग्न असम्भव हुँदा पढाइ प्रभावित भएको हो। हिउँद मै घुँडामाथि पानी हुने मेची नदीमा पुल नभएका कारण शिक्षक र कर्मचारीहरु बर्खाको भेलमा पौडी खेलेर मेचीपारि विद्यालय पुग्न सम्भव छैन।
'गत साउन २५ गतेदेखि विद्यालय खुल्नुपर्ने हो', विद्यालयका प्रधानाध्यापक लोकेन्द्र थपलियाले भने, 'विद्यालय जानका लागि मेची नदीमा पुल छैन, कसरी विद्यालय पुग्ने ? ' बर्खापछि नदीमा पानीको सतह घटेपछि मात्र विद्यालयको पढाइ सुरु हुनेछ। सिमानाको नदी मेचीमा बर्खायाममा पानीको सतह धेरै हुने भएकाले विद्यालय जान नसक्नु शिक्षकहरुको बाध्यता रहेकाे उनकाे भनाइ छ।
उनका अनुसार वैकल्पिक उपाय खोज्ने उत्तरतिर काँकडभिट्टा र दक्षिणतिर भद्रपुरको मेची पुल तरेर भारतीय मार्गबाट पुग्नुपर्ने हुन्छ। उत्तर र दक्षिणतिरको दुई वटै भारतीय मार्ग भएर विद्यालय पुग्न ३० देखि ४० किलोमिटरको दूरी तय गर्नुपर्ने हुन्छ। भद्रपुरबाट जाँदा विहार र काँकडभिट्टाबाट जाँदा पश्चिम बङ्गालको बाटो प्रयोग गर्नुपर्ने हुन्छ।
'विद्यालय खुलाउन नसके पनि भारतीय मार्ग भएर दुईपटक रेखदेखका लागि पुगेको छु', थपलियाले भने , 'अहिले मात्र होइन, बर्खाको समयमा विद्यालयको पठनपाठन बन्द हुनु वर्षैपिच्छेको समस्या हो।' विसं २०५७ मा मेची पारिको नेपालमा शिक्षाको पहुँच पुर्याउने उद्देश्यले मेची प्राथमिक विद्यालयको स्थापना भएको थियो। त्यसयता असारदेखि भदौ असोजसम्म विद्यालयमा कुनै वर्ष पनि पठनपाठन हुन सकेको छैन।
कक्षा २ सम्म पढाइ हुने उक्त विद्यालयमा हाल ११ विद्यार्थी छन्। साविक ज्यामिरगढी गाउँ विकास समितिको वडा नं १ मा रहेको ग्वाल बस्ती, शिशौ डाँगी र झाडु बस्ती भौगोलिक हिसाबले मेची नदीपारि रह्यो। अहिले ती तीनवटै गाउँ मेचीनगरको वडा नं १५ मा पर्दछन्।