काठमाडाैँ - रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाले विद्यालय शिक्षा क्षेत्रमा नयाँ अभ्यासको थालनी गरेको छ। अब गाउँपालिकाभित्रका सबै विद्यालयमा कक्षा सुरु हुनुअघि विद्यार्थीहरूले अनिवार्य रूपमा योग ध्यान गर्ने भएका छन्। ‘योग सिकौँ, योग सिकाऔँ’ अभियानसहित गाउँपालिकाले शिक्षक, स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई सात दिने विशेष तालिम दिएर औपचारिक रूपमा कार्यक्रम लागू गरेको हो।
गाउँपालिकाले माध्यमिक विद्यालयबाट दुई-दुई, आधारभूत विद्यालय (कक्षा १-८) बाट एक-एक, प्रत्येक वडास्थित स्वास्थ्य संस्थाबाट एक-एक स्वास्थ्यकर्मी र जनप्रतिनिधिसहित ३० जनालाई योग तथा ध्यानसम्बन्धी तालिम दिएको छ।
तालिम प्राप्त शिक्षकमार्फत विद्यार्थी, अभिभावक र समुदायमा योग शिक्षा विस्तार गर्ने उद्देश्य रहेको गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले बताए। ‘योगले मानिसलाई निरोगी बनाउने मात्र होइन, विद्यार्थीको स्मरण शक्ति र एकाग्रता बढाउँछ,’ अध्यक्ष सुनुवारले भने, ‘शारीरिक र मानसिक रूपमा स्वस्थ भएमात्र अध्ययनमा ध्यान केन्द्रित गर्न सकिन्छ, त्यसैले कक्षा सुरु हुनुअघि योग-ध्यान अनिवार्य गरिएको हो।’
कार्यक्रमअन्तर्गत विद्यार्थीलाई दैनिक जीवनशैलीमा ध्यान, शारीरिक व्यायाम र सकारात्मक सोच विकसित गर्ने अभ्यास गराइनेछ। स्वास्थ्यकर्मी र आमा समूहमार्फत समुदायमा पनि योगको महत्त्व फैलाउने योजना गाउँपालिकाले अघि सारेको छ।
विद्यालयमा सुरु गरिएको योग कार्यक्रमलाई स्थानीय अभिभावकहरूले स्वागत गरेका छन्। यसले विद्यार्थीलाई अनुशासनबद्ध, स्वस्थ र मानसिक रूपमा सशक्त बनाउन मद्दत गर्ने उमाकुण्ड गाउँपालिका-४ प्रीति स्थित चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक रुद्रकुमार जेस्पुचाले बताए।
यो अभ्यासलाई दीर्घकालीन रूपमा निरन्तरता दिँदै ‘स्वस्थ गाउँपालिका’ अभियानमा रूपान्तरण गर्ने तयारी गरेको गाउँपालिका अध्यक्ष सुनुवारले बताए।