काठमाडाैँ - दक्षिण बागलुङको जैमिनी नगरपालिकाका दर्जन भन्दा बढी विद्यालयमा विज्ञान, गणित र अङ्ग्रेजी शिक्षक पदपूर्ति गर्न ‘नगर शिक्षा ऐन’ नै परिमार्जन गर्नुपरेको छ। तीन पटकसम्म सूचना प्रकाशित गर्दा पनि आवेदन नपरेपछि जैमिनीले नगर शिक्षा ऐन नै परिमार्जन गरेर लाइसेन्स बिनाका शिक्षा नियुक्त गर्ने प्रावधान राखेको छ।
‘अध्यापन अनुमति पत्र (लाइसेन्स) बिनाका शिक्षक नियुक्ति गर्ने ऐनमा व्यवस्था गरिए पनि पर्याप्त शिक्षक भने पाउन सकिएन,’ जैमिनीका नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यले भने, ‘ऐन परिमार्जन पछि छिटफुट व्यक्तिले आवेदन दिएका थिए, उनीहरुलाई नै शिक्षक नियुक्ती गरेर पठनपाठनको व्यवस्था गर्न बाध्य भएका छौ।’ तलब बढाएर माग्दा पनि विज्ञान, गणित, अङ्ग्रेजी र कम्प्युटरका शिक्षक पाउन नसकेको आचार्यले बताए।
सदरमुकामकाे रुद्रेपिपल मावि झण्डै तेह्र महिनादेखि प्रधानाध्यापक विहीन छ। माध्यमिक शिक्षा परीक्षामा जिल्ला टपेको रुद्रेपिपल सहायक प्रअको भरमा चलेको छ। झण्डै पाँच सय विद्यार्थीले अध्ययन गरिरहेको विद्यालय मावि तहमा दरबन्दीका शिक्षक नहुँदा निमावि र प्रावि तहका शिक्षकहरुले मावि तहमा अध्यापन गराईरहेका छन्। निजी श्रोतको भरमा उत्कृष्ट नजिता निकाल्दै आएको विद्यालयमा प्रधानाध्यापकको अभावले व्यवस्थापन र अध्यापनमा असर गरिरहेको विद्यालयका अध्यक्ष कमल बोहराले बताए।
अध्यक्ष बोहराले पटक पटक नगरपालिकामा दरबन्दीको शिक्षक माग गर्न पुग्दा बेवास्ता गर्दै आएको गुनासो गरे। ‘नगर शिक्षा समितिका पदाधिकारीहरु सामुदायिक विद्यालय राम्रो बनाउने पक्षमा छैन, रुद्रेपिपल प्रअविहिन बन्नु यसैको उदाहरण हो’ बोहराले भने।
नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले भने आवश्यकता अनुसारको शिक्षक नपाउँदा पठाउन नसकिएको तर्क गरेका छन्। ‘पाए पठाउने हो। विषयगत शिक्षक पाउन नसक्दा रुद्रेपिपलमा दरबन्दी पुरा हुन सकेको छैन’ पोखरेलले भने।
बागलुङ नगरपालिका-८ सिगानाको बौडेचौर माविमा गणित शिक्षकको अभाव छ। प्रावि दरबन्दीका रुद्रप्रसाद जोशीले स्नातकोत्तर उत्तिर्ण गरेकाले अध्यापन गराएका छन्। जोशी अन्यत्र सरुवा भएमा गणित र सामाजिकको पढाइ ठप्पै हुने विद्यालयका प्रअ जीवननाथ शर्मा किसान सापकोटा बताए।
पछिल्लो समय युवाहरु शिक्षण पेशामा आर्कषण नभएको र विज्ञान पढ्ने विद्यार्थीले सानो जागिर खानै नमान्दा शिक्षक अभाव खड्किएको बागलुङ नगरपालिकाको सामाजिक विकास समितिका संयोजक ज्ञानेन्द्र गौतमले बताए। बागलुङ नगरपालिकाले गतवर्ष एक दर्जन विद्यालय मर्ज र आधादर्जनलाई तह मिलान गरेको छ। विद्यालय संख्या घट्दै गएपछि गलकोट, जैमिनी र बडिगाडमा पनि केही विद्यालय बन्द भएका छन्।