काठमाडाैँ - रुकुमपश्चिमको सानीभेरी गाउँपालिकाका भित्र रहेका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ।मुसीकोट नगरपालिका १ निवासी समाजसेवी तथा युवा व्यवसायी राजु केसीको सहयोगमा १ हजार ५०० विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो।
केसीले सानीभेरी गाउँपालिकाभित्रका २४ वटा विद्यालयका बालबालिकालाई कपी, कलम, रिफिल लगायतका शैक्षिक सामग्री उपलब्ध गराईएको जानकारी दिए। उनका अनुसार कक्षा ९ र १० मा अध्ययनरत सबै विद्यार्थी र कक्षा १ देखि ८ मा प्रति कक्षा ३ जनाको दरले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई उक्त सामाग्री वितरण गरिएको हो।
सानीभेरीमा रहेका ७ वटा माध्यमिक र १७ वटा आधारभूत विद्यालयका बालबालिकालाई सामग्री दिइएको हो। सहज र सरल शिक्षा प्राप्तिमा शैक्षिक सामग्री अभावले हुने कठिनाई हटाउन आफूले सक्दो सहयोग गरेको उनको भनाइ छ।
सोमबार सानीभेरी गाउँपालिकाको जनप्रिय मावि हासिबाङ, राप्ती ज्ञानोदय मावि सिम्ली र बाल ज्योती मावि गिठाकोटमा फरक फरक कार्यक्रम गरेर ११ वटा विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको थियो। त्यसैगरी मङगलबार सूर्योदय मावि बेल्टापु, भेरी दोभान मावि चाइनाबगर, शीतल मावि पक्रैया र सानीभेरी मावि मेघामा कार्यक्रम गरेर १३ वटा विद्यालयलाई शैक्षिक सामग्री वितरण गरिएको हो।
सानीभेरी गाउँपालिका ३ का वडा अध्यक्ष जगदीश नकालले गाउँ गाउँमा पुगेर गरिब तथा जेहेन्दार तथा अन्य विद्यार्थीहरुलाई ठुलो सङ्ख्यामा शैक्षिक सामग्री व्यवस्थापन गरेर हस्तान्तरण गर्नु केसीको उल्लेखनीय तथा उत्कृष्ट कार्य भएको बताए। उनले यस प्रकारको उदाहरणीय कार्यले बालबालिकाहरु र समाजमा सकारात्मक सन्देश प्रवाह हुने जनाए।