काठमाडौँ- अब बन्ने अन्तरिम सरकारकाे नयाँ प्रधानमन्त्रीका लागि सिंहदरबारभित्र राणाकालीन दरबारजस्तो देखिने गृह मन्त्रालयको नवनिर्मित आधुनिक भवनमा व्यवस्थापन गरिने भएकाे छ। मुख्यसचिव एकनारायण अर्यालसहित सचिवहरूको टोलीले गरेको अध्ययनमा यो विकल्पबारे कुरा भएको एक सचिवले जानकारी दिए। ‘अन्य भवन पनि हेर्ने काम भयो, कुनै सद्दे छैनन्, एउटा विकल्प निर्माणाधीन गृहमन्त्रालयको नयाँ भवन हुनसक्छ भन्ने कुरा भएको छ,’ उनले भने।

मुख्यसचिव अर्यालले प्रधानमन्त्री र मन्त्रीहरू आइसकेपछि कहाँ-कहाँ कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेबारे आज हेर्ने काम गरिएको जानकारी दिए। सिंहदरबारबाटै प्रशासनिक काम गर्ने गरी तयारी गरिएको उनले बताए।
अन्तरिम प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का लागि अहिले सिंहदरबारमा व्यवस्थापन थालिएको छ। गृहमन्त्रालयका लागि बनाइएको नयाँ भवनमा प्रधानमन्त्री राख्न लागिएको छ। सबै महाशाखा अट्ने गरी निर्माण भएको पाँचतले भवनमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालय सारिने भएकाे छ।

देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र आधुनिक भवन केही फरक डिजाइनमा बनेको छ भने पूर्ण रुपमा आधुनिक सुविधायुक्त छ। नयाँ भवन बेसमेन्टसहित ६ तलाको छ। यसमा १५ जना अट्ने २ वटा लिफ्ट राखिएका छन्। सेवाग्राहीका लागि २ वटा भर्याङ र अत्यावश्यक अवस्थामा प्रयोग गर्ने छुट्टै भर्याङ छन्।

मन्त्री, सचिव र कर्मचारीका लागि १०० बढी कोठा छन्। सबै कोठामा एसी सिस्टम, फायर फाइटिङ सिस्टम, हिट एन्ड स्मोक डिटेक्टर सिस्टम छ। चौथो तलामा २०० क्षमताको सेमिनार हल पनि छ।

यसअघि सिंहदरबारको मुख्य भवनमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय रहेको थियो। आन्दोलनका क्रममा प्रदर्शनकारीले गरेको आगजनीका कारण उक्त भवन पूर्ण रुपमा जलेर ध्वस्त भएपछि नयाँ भवनको खोजि गरिएको हो।