काठमाडाैँ - नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न विद्युत् प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेका छन्। घिसिङले पदभार ग्रहण गरेपश्चात याे पहिलो निर्णय गरेका हुन्।
उनी प्राधिकरणको प्रबन्ध निर्देशक हुँदा उनी आफैँले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने प्रयास गरेका थिए। तर, व्यापारीको दबाबमा तत्कालीन सरकारले उनलाई यो राजश्व असुल्नबाट रोकेको थियो। उनले बक्यौता असुलेरै छाड्ने अडान लिएपछि उनलाई बर्खास्त गरिएको थियो।
घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा बक्यौता असुल्ने प्रयास गरेका थिए। तर, तत्कालीन ऊर्जामन्त्री दीपक खड्काले उल्टै उनलाई पटक पटक स्पष्टीकरण सोध्नेदेखि लिएर उनको कार्यालयमै अड्डा जमाएर उनलाई हतोत्साही बनाउने प्रयास गरेका थिए।
साथै घिसिङले कठिन परिस्थितिलाई सामना गर्न जिम्मेवारी लिएको समेत बताएका छन्। ‘देश एउटा सङ्कटपूर्ण घडीमा छ। राजनीतिक स्थिरतामा अगाडि बढाउन सकिन्छ भनेर ठूलो चुनौतीमा हामी आएका छौँ। यो सानो चुनौती होइन। यो चुनौतीबाट भाग्नु हुँदैन,’ ऊर्जा मन्त्रालयमा पदभार ग्रहण गर्दै भने, ‘यो चुनौतीलाई सामना गर्न हामी आएका छौँ। यसलाई सामना गर्दै तीन वटा मन्त्रालयको जिम्मेवारी लिएर म आएको छु। जिम्मेवारी लिने हो, भाग्ने होइन।’
उनले राष्ट्रका लागि ठूलो क्षति पुगेकोले अब पुनर्निर्माण अभियानमा लाग्ने बताए। ‘अब हिंसा होइन, समाधानको बाटो हो। अब हामी पुनर्निर्माण, समृद्धि र राजनीतिक स्थिरतामा लैजानु छ,’ उनले भने, ‘सही अवतरण गर्नु हाम्रो दायित्व हो। पुनर्निर्माण हाम्रो अभियान हो।’
घिसिङले खादा-माला तथा अबिर केही पनि नलिने घोषणा समेत गरेका छन्।