काठमाडौँ - दसैँ यात्रा सहज बनाउन भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले आधा दर्जन निर्णय गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ र सहरी विकासमन्त्री समेत रहेका घिसिङले सरोकारवालासँगको छलफलपछि सडक समस्या समाधानका लागि ७ बुँदे निर्णय गरेका हुन्।
मन्त्री घिसिङले दसैँमा काठमाडौँबाट बाहिरिने यात्रुवाहक सवारीसाधन नागढुंगा सुरुङमार्गबाट चलाउने र बुटवल-नारायणगढको दाउन्ने खण्डमा दसैँ अवधिभर ठूला सवारीसाधन (१२ चक्के र सोभन्दा माथि) सञ्चालनमा रोक लगाउने निर्णय गरेका छन्। तर खाद्यान्नलगायतका अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीसाधनलाई निरन्तर आवागमन हुने व्यवस्था गराइने मन्त्रालयले जनाएको छ। २४ सै घण्टा सडक अवस्थाबारे गुनासो सुन्न र त्यसको व्यवस्थापनबारे जानकारी दिन, पहिरोलगायतले सडक अवरोध भएमा तुरुन्तै पुनःस्थापनाको व्यवस्था गर्न उनले सम्बन्धित निकायलाई निर्देशन पनि दिएका छन्।
दसैँ नजिकिँदै गर्दा मुलुकका विभिन्न स्थानका सडक तथा राजमार्गमा पहिरो खसेर सवारी आवागमन प्रभावित हुने समस्या यथावत् छ। नारायणगढ-मुग्लिन सडकअन्तर्गत तुइन खोलामा पहिरो खसेर शुक्रबारदेखि सवारी आवागन ठप्प छ। शनिबार बिहान ठूलो पहिरो खसेकाले पन्छाउन समस्या भएको छ। पहिरो खसिरहेकाले तुरुन्त पन्छाएर सवारीसाधन सञ्चालन गर्न कठिनाइ भएको सडक विभागको भनाइ छ।
नारायणगढ-बुटवल सडकको दाउन्ने खण्डमा उकालो र हिलोले गर्दा सवारीसाधन रोकिने र चिप्लने समस्या छ। अरनिको राजमार्गअन्तर्गत कोदारी खण्डमा पहिरो खसेर सडक सञ्चालनमा आउन सकेको छैन, जसले गर्दा तातोपानी नाकाबाट सामान आयात ठप्प छ, कन्टेनर वारपार गर्न सकेका छैनन्। सडक अवरोध हटाउन मन्त्री घिसिङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, नेपाल प्रहरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पदाधिकारीसँग छलफल गरेका हुन्।
दसैँपछि पनि नागढुंगा सुरुङमार्गबाट सार्वजनिक सवारीसाधन प्रवेश गराउने व्यवस्थाका लागि सम्बन्धित पक्षसँग छलफल गरेर निर्णय गरिने सडक विभागका महानिर्देशक विजय जैसीले बताए। ‘यसबारे सुरुङमार्ग निर्माणको जिम्मा लिएको निर्माण कम्पनी र परामर्शदातासँग छिट्टै नै छलफल गर्छौं,’ उनले भने, ‘त्यसपछि यसबारे निर्णय हुन्छ।’
काठमाडौँको नयाँ बसपार्क तथा मुलुकका विभिन्न राजमार्गमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन प्रहरी गस्ती तथा प्रहरी संख्या थप गर्न नेपाल प्रहरीलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने छलफलबाट निर्णय भएको छ। मुलुकभरका मुख्य सडकलाई चुस्त, दुरुस्त र सुधार गर्न पहिरोको व्यवस्थापनका लागि आवश्यक सामग्री तथा मेसिनहरू व्यवस्थापन गर्न मन्त्री घिसिङले सडक विभागलाई निर्देशन दिएका छन्। दाउन्ने खण्डमा चौबीसै घण्टा दुईतर्फी यातायात सञ्चालन गर्न उनले निर्देशन दिएका छन्।
त्यस्तै नारायणगढ मुग्लिन सडक खण्डको तुइन खोलामा भएको अवरोध (पहिरो) हटाई तत्काल यातायात सञ्चालनमा ल्याउन र तातोपानी नाका जोड्ने मुख्य सडक दसैँअघि नै सञ्चालनमा ल्याउन विभागलाई निर्देशन दिइएको छ। दाउन्ने खण्डमा अहिले समस्या नरहेको विभागका महानिर्देशक जैसीले बताए । ‘अरनिको राजमार्गको कोदारी खण्डमा पाँच ठाउँमा पहिरो खसेको थियो, तीन वटा पहिरो हटाइसकिएको छ, अब दुई वटा पहिरो पन्छाउन बाँकी छ,’ उनले भने, ‘यसमा टोली खटिएको छ, नारायणगढ-मुग्लिन सडकको तुइन खोलामा अझै पहिरो झरिरहेको छ, शनिबार साँझसम्म पन्छाउने काम भइरहेको छ ।’
चाडबाडमा सबै कर्मचारी बिदा नबस्ने व्यवस्था मिलाएर सडक सहज रूपमा सञ्चालन गर्न लागिपर्ने उनले बताए। ‘कर्मचारीलाई रोटेसन गरेर केन्द्र र जिल्लामा बिदा गर्ने व्यवस्था मिलाउँछौँ,’ उनले भने, ‘कँही केही समस्या आए तत्काल मेसिन, प्राविधिकहरूको सहयोगमा पहिरो पन्छाएर सडक सुचारु गर्नेछौँ।’
नागरिकलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गर्दै सार्वजनिक सूचना जारी गर्ने निर्णय भएको छ। सार्वजनिक सवारीसाधनलाई सुरक्षित तथा प्रविधिमैत्री बनाउने सम्बन्धमा कार्यविधि/निर्देशिका यातायात व्यवस्था विभागले तयार गरी यथाशीघ्र मन्त्रालयमा पेस गर्न मन्त्रीले घिसिङले निर्देशन दिएका छन्।
डिजिटल प्रणालीमा लगेर यातायात क्षेत्रमा सुधार गर्ने गरी छलफल भएको यातायात व्यवस्था विभागका उपमहानिर्देशक नरहरि तिवारीले बताए । ‘सडकमा के समस्या छ, कहाँ के भएको छ भनेर यसको जानकारी दिने सूचना प्रणाली बलियो बनाउने कुरा भएको छ,’ उनले भने, ‘चाडबाडमा सार्वजनिक यातायातलाई सहज बनाउने कुरा भएको छ।’ उनका अनुसार पहिला जस्तो दसैँमा गाडीको अग्रिम टिकट बुकिङ यो पटक नखुलाएर ३/४ दिनको मात्र बुकिङ लिने काम व्यवसायीले गरेका छन्।
सडकको अवस्था र सुरक्षालाई व्यवस्थित गर्न २४ घण्टा नै सञ्चालन हुने गरी कन्टोल रुममा फोकल पर्सनको व्यवस्थापन गर्न सडक विभागलाई निर्देशन दिइएको छ। चाडबाडका बेला मात्र उपत्यकाबाट करिब २० लाँख यात्रु बाहिरिने अनुमान यातायात व्यवसायीको छ। अहिले भने क्याम्पसहरू बिदा भएकाले धेरै यात्रु बाहिरिसकेका छन्। अहिले नयाँ बसपार्कमा यात्रुको भीड लाग्ने गरेको छ।
अघिपछि घटस्थापनाको १५ दिनअघि गाडीको अग्रिम टिकट बुकिङ खोल्ने गरिन्थ्यो। यो पटक देशको परिस्थितिले गर्दा त्यो सम्भव नभएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए। ‘सडकको अवस्था राम्रो छैन, ठाउँ ठाउँमा प्रहरी पोस्ट जलाइएका छन्, सुरक्षाको प्रत्याभूति छैन,’ उनले भने, ‘त्यसैले लामो समयको टिकट बुकिङ दिन सक्दैनौं, जति सवारीसाधन काठमाडौं आइपुग्छन्, त्यसरी नै यात्रुलाई पठाउने व्यवस्था गर्छौं।’
भौतिक मन्त्रालयले गरेका निर्णय
- -सुरक्षा व्यवस्था चुस्त बनाउन प्रहरी गस्ती र संख्या थप गर्न गृहलाई अनुरोध
- दाउन्ने खण्डमा खाद्यान्नलगायत अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीसाधनलाई आवागमनको व्यवस्था
- मुलुकभरका मुख्य सडक चुस्त, दुरुस्त राख्न आवश्यक यन्त्रहरूको व्यवस्थापन
- बुटवल-नारायणगढ सडकको दाउन्ने खण्डमा चौबीसै घण्टा दुईतर्फी यातायात सञ्चालन गरिने
- नारायणगढ-मुग्लिन सडकको तुइन खोलाको पहिरो हटाई यातायात सञ्चालनमा ल्याइने
- तातोपानी नाकालाई जोड्ने मुख्य सडक दसैंअघि नै सञ्चालनको गृहकार्य
- मुलुकभर सडकहरूको अवस्था र सुरक्षालाई व्यवस्थित गर्न चौबीसै घण्टा उपलब्ध हुने गरी कन्ट्रोल रुम सञ्चालन गर्न फोकल पर्सनको व्यवस्था