काठमाडौँ - नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले ठोस नतीजा निकाल्नेगरी अघि बढ्न कर्मचारीलाई निर्देशन दिएका छन्। सोमबार केशरमहलस्थित मन्त्रालयमा पदभार ग्रहणपछि मन्त्री पुनले अनावश्यक र औचित्यहीन समिति गठनमा आफूलाई रूचि नभएको बताए।
पदभार ग्रहणका बेला मन्त्रालयका सचिवसहितको टोलीले मन्त्रीको पहिलो निर्णयमा हस्ताक्षर गरिदिन आग्रह गर्दा उनले नाम मात्रको समिति गठन गर्न जरुरी नरहेको बताए। ‘हाजिर गर्ने, दुई चार पटक मिटिङ बस्ने, सदस्य भएर एउटा पद लिने, म चैँ यो समितिको सदस्य हुँ भनेर भिजिटिङ कार्डमा नाम लेख्ने मात्रै भएन के, अब ठोस काम होस् भन्ने म चाहन्छु,’ उनले भने।
सो क्रममा उनले पटकपटक नाम मात्रैको समिति नबनाउन कर्मचारीहरूलाई निर्देशन दिँदै टिओआरमा हस्ताक्षर गर्न समेत अनकनाए। पुनले विद्यालय शिक्षा ऐनबारे विज्ञहरूको टिम बनाएर काम गर्ने बताएका छन्।
पदभार ग्रहणको क्रममा पत्रकारहरूले शिक्षा ऐन के हुन्छ भन्ने जिज्ञासमा उनले भने, ’त्यो थाहा छैन। त्यो कस्तो ऐन बनाएको हो, के हो ? यसका लागि विज्ञहरूको टिम बनाउँछु। विज्ञहरूको टोलीले जे-जस्तो किसिमको सल्लाह सुझाव दिन्छन्। सोही अनुसार अघि बढ्छु।’
संसद् विघटन भइसकेको अवस्थामा सबै संसदीय समितिहरू निष्क्रिय भइसकेको भन्दै उनले विज्ञहरूलाई इमान्दारितापूर्वक सुझाव दिन आग्रह गरे।मन्त्री पुनले आफूलाई कवाडी मन्त्री भन्न आह्वान गरेकोबारे सञ्चारकर्मीको प्रश्नमा उनले मन्त्रालयभित्र बाहेक बाहिर भेट हुँदा मन्त्री सम्बोधन नगर्न आग्रह गरे।
काम गर्दा समूहमा १६ देखि ३० उमेर समूहका युवा पुस्तालाई समेट्ने उनले बताए।जेनजी पुस्ताले उठाएको भ्रष्टाचार अन्त्य र सुशासनको मुद्दाबारे आफ्नो मन्त्रालयमातहतमा ध्यान दिने उनको भनाइ छ।