काठमाडाैँ- निर्वाचनकाे मिति घाेषणा भएपनि जेन-जी यूवाले पनि मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी गरेसँगै उनीहरूले नाम दर्ता गर्न पाउने बाटाे खुलेकाे हाे।
ऐनले दफा ४ ले २१ फागुनमा हुन गइरहेको मतदानमा भाग लिनका लागि योग्य भएका जेन-जी युवाहरूलाई रोकेपछि सरकारले अध्यादेश सिफारिस गरेको थियो। अध्यादेश आजै जारी गर्नका लागि पठाइएको थियो।
निर्वाचन घोषणा भइसकेपछि पनि केही समय मतदाता नामावली संकलन मिल्ने कानुनी व्यवस्था गर्न अध्यादेश जारी भएको हो। मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा २ (२) मा ‘निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन’ भनिएको छ। प्रधानमन्त्री सुशीला कार्कीले नियुक्ति भएकै दिन २७ भदौमा गरेको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्दै २१ फागुनमा निर्वाचनको मिति घोषणा गरेका थिए।
निर्वाचन घोषणापछि आन्दोलनबाट परिवर्तन ल्याएका युवा (जेन–जी) मताधिकारबाट वञ्चित हुने देखिएपछि अध्यादेश ल्याइएको हो। नामावली संकलनपछि निर्वाचनको कार्यतालिका बनाएर निर्वाचनको गतिविधि पनि अघि सार्ने आयोगको तयारी छ। ‘निर्वाचन अवधि १२० दिन राख्ने आयोगको अभ्यास छ। यस पटक पनि त्यहीअनुसार मतदाता नामावली संकलन सकेर अघि बढ्छौँ,’ निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने।
३० भदौमा गृहमन्त्री बनेलगत्तै ओमप्रकाश अर्यालले मतदाता नामावलीमा नाम दर्ता गराउन योग्य भएका र छुटेकालाई सरकारले एक पटक मौका दिने बताएका थिए। विदेशमा रहेका नेपालीलाई पनि मताधिकार दिने कार्यको सुरुवात गर्ने मन्त्री अर्यालको भनाइ थियो। त्यसका लागि अध्ययन टोली गठन भएको छ।
अध्यादेशमा मतदाता नामावली संकलनसम्बन्धी ऐनको दफा ४ को उपदफा २ (२) लाई संशोधन गरी ‘निर्वाचन आयोगले तोकेको अवधिभित्र मतदाता नामावली संकलन गर्न सकिने’ प्रावधान राखिएको छ। निर्वाचन आयोगले अध्यादेशका आधारमा मतदाता नामावली संकलनका लागि निश्चित दिन तोक्नेछ । त्यसपछि योग्य युवा र यसअघि छुटेका सबैले नामावलीमा नाम दर्ता गराउन पाउनेछन्।
