काठमाडाैँ - पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पुराना र भ्रष्टीकृत भइसकेका दलहरुलाई फेरि टाउको उठाउन दिन नहुने बताएका छन्। नेसपा (नयाँ शक्ति) को अध्यक्षबाट राजीनामा दिएपछि आयोजित पत्रकार सम्मेलनमा उनले अब नयाँ र वैकल्पिक शक्तिहरुले देशको नेतृत्व लिनुपर्ने बताएका हुन्।
‘भ्रष्टीकृत भइसकेका दलहरुलाई कुनैपनि बाहनामा किन्तु परन्तु नभनीकन टाउको उठाउन दिनु हुन्न,’ भट्टराईले भने,‘नयाँ र वैकल्पिक शक्तिहरुले देशको नेतृत्व लिनुपर्छ।’
उनले पुराना र थोत्रा पार्टीहरु सच्चिने सम्भावना नरहेको बताए। बरु पुराना पार्टीका नेताहरुले विद्रोह गर्नुपर्ने बताएका छन्। भट्टराईले जेनजी विद्रोह नेपालको मौलिक र जायज आन्दोलन भएको बताए। यद्यपि आन्दोलनका क्रममा परिवर्तन नचाहने र बाह्य शक्तिले चलखेल गर्न खोजेको पनि उनले बताए।
साथै उनले मुलुकमा सुशासन कायम गर्नको लागि जेनजी विद्रोह जायज भएपनि केही नेता र वाह्य शक्तिले आन्दोलनलाई बदनाम गर्ने काम गरेको टिप्पणी गरे। उनले सुशीला कार्की नेतृत्वको सरकारलाई भ्रष्ट नेताहरुलाई कारबाही गर्न युवा पुस्ताले दबाब दिनुपर्ने बताए।
भट्टराईले अध्यादेशमार्फत संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने बताएका छन्। निर्वाचन र शासकीय प्रणालीमा सुधार नगरेर भोलि पनि आजकै भ्रष्ट राजनीतिक दलहरुले देशको नेतृत्व गर्दा मुलुक थप जटिलतातर्फ जाने बताए।
उनले भने, ‘म कुनै आन्दोलनबाट अलग भएको होइन। म देशलाई वैकल्पिक शक्ति निर्माण गर्ने अभियानमा हिजो पनि थिएँ, आज पनि छु र भोलि पनि रहनेछु। नेतृत्वमा नयाँ पुस्तालाई अवसर दिनको लागि मैले पद परित्याग गरेको हुँ। अहिले बहस भइरहेको राजनीतिक दल सुध्रिने कि सक्किने भन्ने कुरा छ। त्यसकारण पनि दलहरुमा पुस्तान्तरण गर्न अग्रसर हुनुपर्छ।'
'नयाँ शक्तिका रुपमा आएका राजनीतिक दलहरु र युवाहरुको लागि पनि मार्ग प्रशस्त गर्नुपर्छ।' उनले भने, 'पुराना तीन दलका तीन भ्रष्टपात्रहरुले जसरी मुलुकलाई यस्तो बनाए उनीहरु बिरुद्धको जेनजी विद्रोह जायज थियो। त्यसभित्र पनि प्रतिगमनकारी शक्ति र बाहिरी शक्तिहरुले पनि हात हाल्ने कोसिश गरे। तर भ्रष्ट नेताहरुले जसरी विद्रोहको बदनाम गराउन खोजे त्यो खेदजनक छ।'
उनले जनआन्दोलनको नेतृत्व गरेको अनुभवको आधारमा पनि आन्दोलन आंशिक सफल भएको पनि बताएका छन्। भट्टराईले भने,'यसलाई थप सफल बनाउन जरुरी छ।संविधानमार्पत शासकीय सुधार गर्न आवश्यक छ। प्रत्यक्ष निर्वाचन प्रणालीमा नजाँदासम्म मुलुकमा राजनीतिक स्थिरता हुदैँन। अब निर्वाचनमा जाँदा केही सुधार गरेर नजाँदा भोलि यीनै भ्रष्टाचारीहरुले देशको नेतृत्व गर्ने देखिन्छ। अहि0लेसम्म भएका भ्रष्टाचारका काण्डहरुको छानविन गर्नुपर्छ। यतातिर युवाहरुको ध्यान पुगोस् भन्ने चाहाछु।’
उनले जेनजी पुस्तालाई २१ फागुनमा हुने निर्वाचनमा संस्थागत भएर देशको नेतृत्व लिनुपर्नेमा जोड दिए। उनले बुधवार मात्रै नेसपा नयाँ शक्तिको अध्यक्ष पदबाट राजीनामा दिएका थिए।