काठमाडाैँ - नेपालमा नेपालीहरूको महान चाड बडादशैँ प्रारम्भ भइसकेको छ। काठमाडौँ बाहिर भएका भेरै मानिसहरु गाँउघर गइसकेका छन्। नेपालमा विजयदशमीलाई हिन्दुहरुको महान चाड भनेर पनि वर्णन गर्ने गरिन्छ। त्यसकारण विजयदशमीलाई नेपालीहरुले विशेष तरिकाले मनाउने गर्दछन्। दशैँको पहिलो दिन भनेर घटस्थापनालाई लिइन्छ। यस बर्ष (२०८२ सालमा) घटस्थापना असोज ६ गते परेको थियो।
जुन दिन पौराणिक र तान्त्रिक महत्वलाई दृष्टिगोचर गरी दूर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त गर्नका लागि विजयादशमी मनाउने शास्त्रीय विधान छ। दशैको पहिलो दिन शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधि अनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य (जमरा) बीजारोपण गरी ९ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना गरिन्छ। त्यस पश्चात् प्रसाद स्वरूप दशमीको दिन लगाउने टीकाबाट धर्म, अर्थ, काम र मोक्ष प्रदायक हुने भन्ने प्रचलन छ।
आषाढ शुक्ल, आश्विन शुक्ल, माघशुक्ल र चैत्र शुक्ल गरी वर्षमा चारवटा नवरात्रहरू पर्ने गर्दछन्। यी ४ नवरात्रहरूमा आषाढ शुक्ल र माघ शुक्लपक्षका तिथिहरूलाई ‘गुप्त नवरात्र’ भनिन्छ। यी नवरात्र साधकहरूका लागि उपयोगी मानिन्छन्। चैत्र शुक्ल र आश्विन शुक्लपक्षमा आम मानिसहरूले शक्तिको आराधना गर्ने गर्दछन्।
दशैँ आश्विन शुक्ल प्रतिपदादेखि दशमीका दिनसम्म मनाइन्छ। शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, शिद्धिदात्री गरेर नवदुर्गाको क्रमशः पूजा गर्ने गरिन्छ। विशेष गरेर महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना यस पर्वमा गरिन्छ । पूजा गर्दा ९ दिनसम्म कुन–कुन दिन कसको र के-के सामग्री अर्पण गरी पूजा आराधना गर्ने भन्ने कुराको विशेष ख्याल राख्नुपर्दछ र धेरैको जिज्ञासा पनि यहि विषयमा नै रहन्छ।
वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैं घरमा विधिपूर्वक दीप, कलश स्थापना गरी षोडशोपचारले पूजा हुने गर्दछ। सोही कलशमा महाकाली, महालक्ष्मी, महासरस्वती दुर्गा भगवतीको षोडशोपचारले आह्वान पूजन हुने गर्दछ।यसरी पूजन पश्चात् सप्तधान्य छर्नु पर्दछ। हिन्दु धर्म अनुसार भगवती दूर्गा देवीका विभिन्न उपासना मन्त्रले आह्वान पूजन गरी दुर्गा सप्तशतीको पाठ पारायण नित्य गर्नुपर्दछ।
दशैको पहिलो दिन ‘घटस्थापना’ नवरात्रको पहिलो दिन हो। यस बर्ष (२०८२ सालमा) घटस्थापना असोज ६ गते परेको छ। हिन्दु चरल अनुसार यस दिन शैलपुत्री देवीको पूजा आराधना गरिन्छ। दशैं घर वा पूजा कोठामा मकै, गहुँ, जौं आदि अन्नको बीज छरेर घटस्थापना गरिन्छ। यसलाई सप्तधान्य पनि भनिन्छ। गाईको घ्यूबाट बनाइएका परिकार चढाएर शैलपुत्रीको पूजा आराधना गरेमा लामो आयु हुने, दीर्घ रोगबाट बच्न सकिने र आरोग्य प्राप्त हुने धर्म शास्त्रमा उल्लेख छ।
भगवती दुर्गाका ९ स्वरुप (९ दिन)
दशैको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरिन्छ। कुनै पनि प्रकारको बन्धनबाट मुक्ति पाउनका लागि सख्खर चढाई ब्रहृमचारिणी माताको पूजा आराधना तथा दान गरेमा हरेक प्रकारको अनिष्ट नाश हुन्छ भन्ने गरिन्छ।
तेस्रो दिन चन्द्रघण्टाको पूजा आराधना गरिन्छ। दुःख कष्टबाट मुक्तिका लागि गाईको दूधबाट बनाइएका विभिन्न परिकारका प्रसाद भोग लगाउने तथा दान गरेर माता चन्द्रघण्टाको पूजा गरेमा माताको आशिर्वाद हामी माथि सधैंभरि रहन्छ।
चतुर्थी तिथिका दिन माता कुष्माण्डाको पूजा आराधना गरेमा ज्ञान र बुद्धि प्राप्त हुन्छ भन्ने प्रचलन छ। साथै कुनैपनि प्रकारका वाणीमा दोष छ भने उक्त तिथिमा मालपुवा अर्पण गरी पूजा गरेमा र मालपूवा दान गरेमा शुभ हुन्छ।
पञ्चमी तिथिका दिन स्कन्धमाताको पूजा आराधना गरिन्छ। स्कन्धमाताको पूजा गरेमा व्यापार व्यवसायबाट सफलता तथा राज्यबाट पाउने सेवा तथा सुविधामा वृद्धिका साथै रोजगारीका लागि पनि राम्रो हुनेछ। यस दिनमा केराको भोग लगाएर पूजा आराधना गरेमा सफलता मिल्छ भन्ने प्रचलन छ।
छैटौँ दिनमा आकर्षण सुन्दरताका साथै मनले चाहेको व्यक्ति प्राप्तिका लागि नवरात्रीको छैटौं दिन कात्यायनी माताको पूजा आराधना गर्नुपर्दछ। यदि घरमा कुनै अविवाहित व्यक्ति हुनुहुन्छ भने र विवाहमा बाधा अवरोध परेको छ भने मह चढाएर माता कात्यायनीको पूजा आराधना गरेमा कार्यसिद्धि हुन्छ भन्ने प्रचलन छ।
नवरात्रको सातौं दिन फूलपाती भित्राउने चलन छ। नेपालमा यस दिनसम्म घर बाहिर भएका सदस्यहरु दशैको लागि घर आउने गर्दछन्। फूलपाती अर्थात् सप्तमीमा पूजा कोठा वा दशैं घर मा फूलपाती भित्राउने चलन छ। यस दिन कालरात्रि भगवतीको पूजा गरिन्छ। कुनै पनि प्रकारका मुद्दा मामिला तथा दुर्घटनाबाट छुटकारा पाउनका लागि सप्तमी तिथिका दिन कालरात्रि भगवतीको पूजाबाट सम्पूर्ण कष्ट नाश हुने छ। यस बर्ष (२०८२ सालमा) फूलपाती असोज १३ गते परेको छ।
महाअष्ठमी अर्थात् आठौँ दिन महागौरी भगवतीको घटस्थापनाको आठौँ दिन पूजा तथा आराधना गर्नुपर्दछ। यस दिन महागौरीको पूजा आराधना गरेमा सन्तान सुख मिल्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ। महागौरी भगवतीलाई नरिवल अर्पण गरेमा सम्पूर्ण सुख शान्ति प्राप्ति हुन्छ भन्ने प्रचलन छ।
घटस्थापनाको नवौं दिन अर्थात् नवमी तिथिका दिन सिद्धिदात्री भगवतीको पूजा आराधना गर्नुपर्दछ। घ्यू चढाएर सिद्धिदात्रीको पूजा आराधना गरेमा अकाल मृत्युबाट बच्ने र कुनै पनि प्रकारका नराम्रा समाचार सुन्न नपर्ने शास्त्रमा उल्लेख छ।