काठमाडाैँ - शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफ्नो मातहतका तीन निकायहरूलाई आवश्यक निर्देशन दिएका छन्। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), शिक्षा तथा मानव स्रोत विकास केन्द्र र पाठयक्रम विकास केन्द्रमा बुधबार छलफल गरी उनले निर्देशन दिएका हुन्।
मन्त्री पुनले नास्टलाई एक साताभित्र उच्चकोटीको अनुसन्धान केन्द्र कसरी बनाउने भन्ने सुझाव दिने निर्देशन दिए। नास्टका ल्याबहरू उच्चकोटीको भएकोले काम पनि उच्चकोटीकै हुनुपर्ने बताए। उनले नास्टमा २ घण्टा छलफल गरेका थिए।मन्त्री पुनले बुधबार शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा ३ घण्टा छलफल गरेका थिए।
छलफलपछि उनले शिक्षकहरुको दरबन्दी मिलान, विद्यार्थी संख्या ज्यादै न्यून रहेको विद्यालयहरु मर्ज कसरी गर्ने, विद्यालयमा योग्य र सक्षम प्रधानाध्यपकहरुको नियुक्ति गर्न देशैभर लागू हुने गरी कार्यविधि बनाउने, अनलाइन सिकाइको लागि डिजिटल शैक्षिक सामग्रीहरु निर्माणमा जोड दिएका थिए।
पाठयक्रम विकास केन्द्रमा पनि उनले २ घण्टा छलफल गरेको बताएका छन्। छलफलपछि सामुदायिक र संस्थागत विद्यालयहरुको पाठ्यक्रमको विकास गर्दा गम्भीर भएर काम गर्न, पाठ्यक्रमको परिमार्जन र अद्यावधिक समयमा गर्ने, मातृभाषाको पाठ्य पुस्तकहरूको विकासमा सहयोग गर्न, पाठ्यपुस्तकमा नैतिक शिक्षा, व्यवहारिक शिक्षा, इतिहास, संविधानसम्बन्धी ज्ञान दिने कुरालाई उच्च प्राथामिकता दिने निर्देशन दिएका थिए।
आगामी वर्षदेखि ९ र १० मा १०० नम्बरको कम्प्युटर विषय अनिवार्य गरिने भएकोले सोही अनुसार पाठ्यक्रम विकास गर्न निर्देशन दिएको उनले उल्लेख गरेका छ।