काठमाडौँ - औद्योगिक घराना गोल्याण ग्रुप र जेनजी आन्दोलनका सहिद परिवारबीच शुक्रबार 'शैक्षिकवृत्ति योजना'को समझदारीपत्रमा हस्ताक्षर भएको छ। गोल्याण ग्रुपले असोज २४ गते घोषणा गरेको सहिद परिवारका लागि शिक्षा तथा स्वास्थ्यमा आधारित सहयोग कार्यक्रम कार्यान्वयन गर्ने क्रममा समझदारी गरेको हो।
पहिलो चरणमा शुक्रबार ११ जना बालबालिकालाई कक्षा १२ सम्मको अध्ययन र विशेष क्षमता तथा प्रतिभा प्रोत्साहनका लागि खर्च व्यहोर्ने गरी सम्झौता भएको छ। गोल्याणको तर्फबाट कम्पनीका कर्पोरेट अफेयर्स एन्ड कम्युनिकेसन्स प्रमुख ज्योति गैह्रे र बालबालिकाका तर्फबाट उनीहरूका अभिभावकले हस्ताक्षर गरेका छन्।समझदारीअनुसार गोल्याण ग्रुपले सहिद परिवारका सदस्यले अध्ययन गर्दै आएको, इच्छाएको वा उपयुक्त ठहरिएको शैक्षिक संस्थामा माध्यमिक तह (कक्षा १-१२) सम्म अध्ययन गर्न आवश्यक छात्रवृत्ति प्रदान गर्नेछ।
'छात्रवृत्तिस्वरूप निज अध्ययनरत शैक्षिक संस्थाको बैंक खातामा सो संस्थाले तोकेको शुल्क आवश्यकता अनुसार वा एकमुष्ट जम्मा गर्नेछ,' समझदारीपत्रमा भनिएको छ, 'आवश्यक परेको खण्डमा छात्रवृत्ति प्राप्तकर्ताको अभिभावक, गोल्याण ग्रुप तथा सम्बन्धित शैक्षिक संस्थाबीच यस समझदारीको अधीनमा रही तीन पक्षीय सम्झौता गर्न सकिनेछ।'
शैक्षिक छात्रवृत्तिका अतिरिक्त बालबालिकाको इच्छाअनुसार कुनै एक अतिरिक्त क्रियाकलापमा सहभागी हुन सम्बन्धित संस्थामा भर्ना तथा नियमित शुल्क समेत व्यहोर्ने समझदारीपत्रमा उल्लेख छ। अभिभावकहरूले दिएको जानकारीका आधारमा युरो स्कुल छाउनी, प्याराडाइज इंलिस स्कुल सानेपा, जागृति विद्यासदन इंलिस स्कुल मुलपानी लगायतमा पढाउने गरी प्रक्रिया सुरु गरेको गैह्रेले जानकारी दिइन्।
'हामीले गर्ने कुनै पनि सहयोगले परिवारका प्रियजन गुमाउँदाको पीडा मेटाउन सक्दैन, तर तपाईँहरू एक्लो हुनुहुन्न, हामी पनि सँगसँगै छौँ भन्ने भावनाले सहयोगको हात बढाएका हौँ,' उनले भनिन्, 'सहिदका बालबालिकासँग उनीहरूको सपना पनि जोडिएकाले त्यसको संरक्षण गर्नु हामीले दायित्व सम्झेका छौँ।'गोल्याण ग्रुपकी कर्पोरेट अफेयर्स एण्ड कम्युनिकेसन्स प्रमुख गैह्रेले कम्पनीले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा जेनजी आन्दोलनका सहिद परिवारका लागि शिक्षा र स्वास्थ्यमा आधारित सहयोग कार्यक्रम घोषणा गरेको र त्यसलाई कार्यान्वयन सुरु गरेको बताइन्।
उनका अनुसार सहिद परिवारका घरमै गएर उनीहरूको आवश्यकता पहिचान गरी पहिलो चरणको सहयोग कार्यक्रम अघि बढाइएको हो। 'हामीले क्रमशः अन्य सहिदका परिवारसँग पनि सम्पर्क गरिरहेका छौँ, उहाँहरूको आवश्यकता पहिचान गरेर सबैलाई सहयोग कार्यक्रममा जोड्नेछौँ,' उनले भनिन्।
समझदारीपत्र हस्ताक्षरको अवसरमा सहिद परिवारका सदस्य वसन्तकिशोर श्रेष्ठले गोल्याण ग्रुपले बालबालिकाको भविष्यलाई उच्च महत्त्व दिएर सहिदका सपनाको सम्मान गरेको बताए। 'गोल्याण ग्रुपले सहिदका बालबच्चाको शिक्षाको दायित्व व्यहोरेर हामीलाई ठूलो गुन लगाएको छ,' उनले भने,"मेरो घरमा यो दायित्व बोकेको छोरो सहिद भएर गयो, अब गोल्याण ग्रुप मेरो नातिको अभिभावक बनेको छ।'
वसन्तकिशोर सहिद सौरनकिशोर श्रेष्ठका बुवा हुन्। सौरनका ५ वर्षीय छोरा छन्। उनको १२ कक्षासम्मको दायित्व गोल्याण ग्रुपले लिएको छ।
आन्दोलनमा आमा गुमेपछि दुई भाइ-बहिनीको जिम्मेवारी सम्हालिरहेकी काठमाडौँ, सानो भर्याङकी उर्मिला नगरकोटीले नयाँ अभिभावक पाएको बताइन्। बुवा पहिल्यै बितेका र आमा कान्छी नगरकोटीको आन्दोलनमा मृत्यु भएपछि उर्मिलाको काँधमा ९ कक्षामा अध्ययनरत भाइ र ११ कक्षामा अध्ययनरत बहिनीको जिम्मेवारी आइलागेको थियो। 'बुवा-आमा नरहेपछि भाइबहिनीलाई कसरी पढाउने भन्ने चिन्ता थियो, अब हटेको छ,' उनले भनिन्।
समझदारीपत्र हस्ताक्षर कार्यक्रममा आएकी मञ्जु पौडेलले हरेक व्यक्तिको जीवनमा शिक्षाभन्दा ठूलो केही नभएको बताउँदै यसको जिम्मेवारी लिएकोमा गोल्याण ग्रुपप्रति आभार व्यक्त गरिन्। मञ्जुका श्रीमान् अनिष पराजुलीको महाराजगन्जमा गोली लागेर मृत्यु भएको थियो। उनका २ वर्षीय र १४ वर्षीय दुई छोरा छन्। उनीहरूको १२ कक्षासम्मको शिक्षाको जिम्मेवारी गोल्याण ग्रुपले लिएको छ।
गोल्याण ग्रुपले स्वास्थ्य बिमा सहयोग कार्यक्रम कार्यान्वयन प्रक्रिया पनि सुरु गरेको जनाएको छ। शैक्षिक वृत्ति कार्यक्रममा समेट्न नसकिएका सहिद परिवारका बुवा र आमाका लागि बिमामार्फत सहयोग गरिने कम्पनीका कर्पोरेट अफेयर्स एण्ड कम्युनिकेसन्स प्रमुख गैह्रेले जानकारी दिइन्। उनका अनुसार दोस्रो चरणमा तिहारलगत्तै बाँकी सहिद परिवारलाई भेटेर कार्यक्रममा जोडिनेछ। काठमाडौँ बाहिर रहेका सहिद परिवारसँग पनि सम्पर्क गर्ने काम भइरहेको र कात्तिक महिनाभित्र सबैलाई घोषणाअनुसार सबै सहिद परिवारलाई सहयोग कार्यक्रममा आवद्ध गर्ने उनले बताइन्।