काठमाडाैँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर रुपमा प्रस्तुत हुने बताएका छन्। ललितपुरको महालक्ष्मी नगरपालिका-२ इमाडोलमा अवस्थित गम्भीर समुद्र सेतु मा.वि.को ७३ औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री खरेलले सुशासन सरकारको प्राथमिकतामा रहेको उल्लेख गरेका हुन्।
सञ्चारमन्त्री खरेलले भने,'जेनजी आन्दोलनको जगमा बनेको नागरिक सरकारको ‘क्लियर म्यान्डेट’ निर्धारित समयभित्रै निर्वाचन गर्ने, सुशासन कायम र भ्रष्टाचार नियन्त्रण रहेको छ, जेनजीले उठाएको आवाज सुशासन र भ्रष्टाचार नियन्त्रण हो, यो सरकारले त्यो आवाजलाई मुखरित गर्छ। त्यसैले हामी (सरकार) ले भनेका छौँ सुशासन प्राथमिकतामा छ।'
विशेष परिस्थितिमा फरक भूमिकामा आफू मन्त्रीको जिम्मेवारीमा आएको भन्दै मन्त्री खरेलले सकेसम्म जनताले परिणाम अनुभूत गर्नेगरी काम गर्ने विश्वास व्यक्त गरे। उनले भने,'म मन्त्रीको रुपमा कति काम गर्नसकुँला या नसकुला तपाईहरुले खोतल्दै जाँदा बदनाम हुने काम चाहिँ गर्ने छैन। जस्तो गएको छु त्यस्तै फर्कन्छु सकेसम्म राम्रो गर्नेछु तर बिगार्ने र बिग्रिने छैन।' मन्त्री खरेलले जेनजी आन्दोलनका क्रममा क्षति भएका सिंहदरबार, राष्ट्रपति भवन, संसद भवन, सर्वोच्च अदालतलगायतको पुनः निर्माणको कार्य अगाडि बढाउनुपर्ने अपरिहार्यता रहेको बताए।
उनले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका परिवार शोकमा रहेको तथा घाइते भएकाहरु अझै अस्पतालमा रहेको भन्दै पीडितको न्याय हुनेगरी जनधनको क्षतिको अनुसन्धान गरी कारबाहीको दायरामा ल्याइने विश्वास व्यक्त गरे। विद्यालयका प्रिन्सिपल नीराकुमारी श्रेष्ठले विद्यालयले शैक्षिक पाठ्यसामग्रीको अलावा विद्यार्थीहरुलाई व्याहारिक शिक्षा प्रदान गर्दै आएको बताए।
उनले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि र पठनपाठनलाई सहज बनाउन आवश्यक भौतिक पूर्वाधार र स्रोतसाधनको सुनिश्चितताका लागि पहल गरिने बताए। विद्यालयमा तीनवर्षे प्रारम्भिक बालशिक्षा देखि १२ कक्षासम्म अध्ययन हुन्छ। कक्षा ११ र १२ मा व्यवस्थापन र कानून विषयमा पढाइ हुन्छ भने सिटिइभिटीको सम्बन्धन प्राप्त गरी सिभिल र जियोम्याटिक्स इन्जिनियरिङका तीन वर्षे डिप्लोमाका कक्षाहरु सञ्चालनमा रहेको छ।
विद्यालयमा हाल एक हजार ४०० विद्यार्थी अध्ययनरत छन्। सो अवसरमा विद्यालयको शैक्षिक विकास र उन्नयनमा विभिन्न तवरबाट योगदान पुराउने विभिन्न व्यक्तित्वहरुलाई विद्यालयको तर्फबाट मन्त्री खरेलले सम्मान गरे।