काठमाडाैँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सम्पादकहरूलाई बोलाएर अन्तर्क्रिया गरेका छन्। ओलीले भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनलाई आफूले बेठिक नभएको तर जेनजीका नाममा अरूले नै आन्दोलनलाई भड्काएकाे बताए।
‘जेन-जीहरूका मागमध्ये भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र बन्द भएका सामाजिक सञ्जाल खोल्नुपर्छ भन्ने थियो’, उनले भने, ‘उहाँहरूले प्रधानमन्त्रीको राजीनामाको माग पनि गर्नु भएको थिएन। उहाँहरूका तीनवटा माग थिए, मलाई राम्रो हेक्का छ। म तिनै कुराका लागि लडिरहेको थिएँ।’
उनले सामाजिक सञ्जाल अचानक बन्द गरियो भनिएको कुरालाई खण्डन गर्दै डेढ वर्षदेखि प्रयास भएको खुलाए।
काठमाडौँमा भएको अन्तर्क्रियामा ओलीले पहिले पत्रकारहरूका प्रश्न लिए भने त्यसपछि जबाफ दिएका थिए। सो क्रममा ओलीले जेनजी पुस्ताको भदौ २३ र २४ गतेको आन्दोलनको प्रसंगमा पनि कुरा राखेका थिए। त्यसबेला सामाजिक सञ्जालमा नेपोबेबीबारे चर्चा थियो।
त्यसतर्फ लक्ष्य गर्दै अध्यक्ष ओलीले श्रृंखला खतिवडाको प्रसंग निकाले। खतिवडा मिस नेपाल २०१८ हुन्। उनको घरमा पनि जेनजी पुस्ता आन्दोलनका क्रममा आगजनी भएको थियो। ‘श्रृंखला खतिवडालाई के गरेका थिए र उनका बाआमाले? हेलिकप्टरबाट स्कुल पुर्याउने गरेको थियो र?,’ ओलीले प्रश्न गरे। साथै उनले नेपोबेबी भन्ने कुरा नमान्ने पनि बताएका छन्। ‘म यो नेपोबेबी भन्ने कुरा मान्दिनँ, यसलाई मेरो अहंकार भन्नुस् या जे सुकै भन्नुस्,’ उनले भने।भदौ २४ गते क-कसको घरमा आगो लगाउने भन्ने तोकेर आगो लगाइएको उनको भनाइ थियो। ‘कसले लगायो आगो?,’ उनले प्रश्न गरे।