काठमाडाैँ - जुम्लामा पहिलोपटक सम्भोट लिपिको पढाइ सुरु भएको छ। बुद्ध दर्शन संघले बुद्धको उपदेश अध्ययन गर्न र संसारसामु बुद्धको उपदेश पुर्याउनका लागि सम्भोट लिपिको पढाइ सुरु गराएको हो। दुई वर्षअघि स्थापना भएको संघले डेढ वर्षदेखि स्कुल खोलेर सम्भोट लिपि पढाउन सुरु गरेको थियो।
अहिले सम्भोट लिपि पढ्न विद्यार्थीको आकर्षण बढेको संघले जनाएको छ। पहिले भोटे जातिले मात्रै यो लिपि पढ्न हुने भन्ने थियो तर अहिले क्षत्री,बाहुन,दलित सबैले यो लिपिको अध्ययन गरिरहेका छन्।अहिले १६ जना विद्यार्थीले यो लिपिको अध्ययन गरिरहेका छन्। दुई जना शिक्षक छन्। दिउँसो विद्यालयमा अध्ययन भइरहेकोमा यहाँ बिहान र बेलुकी पठनपाठन भइरहेको छ। यहाँ पढ्ने विद्यार्थीलाई आवासको समेत व्यवस्था छ।
यो लिपि पढ्न काठमाडौं र भारततिर जानुपर्ने बाध्यता थियो तर अहिले जुम्लामै यो लिपिको पढाइ भइरहेको खेन्पो कुन्ख्याब (छिरिङ तामाङ) ले जानकारी दिए। उनले बुद्धलाई बुझ्ने र उनको ज्ञानलाई संसारसामु चिनाउने हेतुले सम्भोट लिपिको पढाइ भइरहेको बताए। 'यहाँ मनको तनाव छ,' उनले भने, ‘त्यो तनाव हल्का गर्न र बुद्धको ज्ञान प्राप्तिको लागि पढाइ भइरहेको छ।’
अहिले माध्यमिक तहको पठनपाठन भइरहेको छ। तर यो लिपिको पढाइका लागि कलेज स्थापना जुम्लामै गर्ने लक्ष्य छ। आठौँ शताब्दीपूर्व यो लिपिको पठनपाठन नेपालमै हुन्थ्यो। अहिले मुगु जिल्लाका २ जना,गुठिचौरका ६ जना,पातारासीका ६ जना,तातोपानीका १ जना र डोल्पा जिल्लाका एक जनाले सम्भोटा लिपि पढिरहेका छन्।
सम्भोट लिपि मुख्यतः भोट भाषामा लेख्न प्रयोग गरिने लिपि हो। सातौँ शताब्दीमा तिब्बतका धर्मराजा स्रोङ्चन गम्पोका मन्त्री थोन्मि सम्भोटले विकास गरेका थिए। सम्भोटले राजाको आज्ञाअनुसार भारत गई विद्वान् लिपिकारहरूबाट शब्दविद्याको ज्ञान प्राप्त गरेपछि तिब्बत फर्केर यो लिपिको आविष्कार गरेकोको खेन्पो कुन्ख्याबले जानकारी दिए। उनका अनुसार सम्भोट लिपिमा चारवटा स्वरवर्णको चिहृन र तीसवटा व्यञ्जनवर्ण रहेका छन्। बुद्ध दर्शन संघ जुम्लाका कार्मा बुढाले सम्भोट लिपि अध्ययन गर्न आवश्यक रहेको बताए। उनले भने, ‘अहिले विद्यार्थी संख्या बढिरहेको छ। यो लिपिको महत्व बुझ्ने र बुद्धको ज्ञान प्राप्ति गर्ने विद्यार्थीको संख्या बढ्दै जाने देखिएको छ।’