काठमाडाैँ - कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हिमाली र पहाडी जिल्लाका सबै माध्यमिक विद्यालयमा पूर्वाधार सुधार र सूचना प्रविधि स्थापना गर्ने घोषणा गरेका छन्।
आइतबार धनकुटाको सहिदभूमि गाउँपालिका आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले खेतान फाउन्डेसनको सहयोगमा आगामी १० वर्षमा पूर्वाधार निर्माण कार्यक्रम अघि बढाइने बताए। कार्यक्रममा सहिदभूमि -६, स्थित ठाकुरदेवी माध्यमिक विद्यालयको आठ कोठे भवनको उद्घाटनसमेत गरिएको थियो। उक्त भवन ९२ लाख रुपैयाँको लागतमा सीपी फाउन्डेसनले निर्माण गरेको हो।
मुख्यमन्त्री कार्कीले भने, ' मेरो निर्वाचन क्षेत्रमा निर्माण नगरी, सहिदहरूको सम्मान र क्षेत्रको विकासका लागि विद्यालय निर्माण कार्यक्रम सहिदभूमि पालिकामा गर्नु उपयुक्त देखियो।' सीपी फाउन्डेसनका अनुसार, हिमाली तीन जिल्ला र पहाडी आठ जिल्लाका करिब ५०० विद्यालयको पूर्वाधार र आइसिटी निर्माण यसै आर्थिक वर्षभित्रै सुरु गरिनेछ। कार्यक्रम प्रदेश र स्थानीय पालिकाको साझेदारीमा अघि बढ्नेछ र करिब १५ अर्ब रुपैयाँको लगानी हुने योजना रहेको छ।
फाउन्डेसनका संस्थापक सीपी खेतानले यसबाट कोसी प्रदेशमा शैक्षिक सुधारमा ठूलो उपलब्धि हासिल हुने बताए।मुख्यमन्त्री कार्कीले योजना १० वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको र आवश्यक परे प्रदेश र पालिकाका स्रोत साधनसमेत प्रयोग गरिने जानकारी दिए।
आजको अवसरमा सहिदभूमि गाउँपालिका र सीपी फाउन्डेसनबीच नमुना पालिका बनाउने समझदारी पत्रमा हस्ताक्षर भएको थियो। सम्झौताअन्तर्गत सहिदभूमि पालिकामा करिब २-३ अर्ब रुपैयाँको लगानी हुनेछ र यसले विद्यालय, स्वास्थ्य चौकी, लघु उद्यमशीलता र सडक कालोपत्रे निर्माणमा योगदान पुर्याउनेछ।