काठमाडौँ - कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। सोमबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो।
बोर्डले सार्वजनिक गरेकाे नतिजा अनुसार परीक्षामा सहभागीमध्ये ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। गत वर्ष ५२ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए।
अङ्ग्रेजी, लेखा, सामाजिक र नेपालीमा धेरै विधार्थी फेल(ननग्रेड) भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए। यस पटक नतिजा राष्ट्रिय परीक्षा बोर्ड https://neb.gov.np/र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np/ बाट हेर्न सकिने व्यवस्था मिलाइएको बाेर्डले जनाएकाे छ।
५ हजार २ सय २ विद्यालयका विद्यार्थीलाई कक्षा १२ को परीक्षा दिन १ हजार ५ सय ९१ परीक्षा केन्द्र तोकिएको थियो। जसमध्ये जापानस्थित एभरेस्ट स्कुलबाट ३८ जना विद्यार्थी पनि परीक्षामा सहभागी थिए। ७७ जिल्लामध्ये थोरै मनाङबाट ४५ जना र काठमाडौंबाट ६८ हजारले परीक्षा दिएका थिए।
मनाङ/मुस्ताङमा १/१ वटा र काठमाडौँमा सबैभन्दा धेरै १ सय ६२ वटा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो।
नेपाल शिक्षक महासंघको शैक्षिक हडतालसहितको काठमाडौँ केन्द्रित सडक आन्दोलनले वैशाख ११ गतेदेखि तोकिएको परीक्षा १० दिन पछाडि सरेको थियो। जेठ २ गते परीक्षा सकिएपछि उत्तरपुस्तिका परीक्षण लगायतको काम सुरु भएको थियो।
प्रत्येक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थी नतिजा प्रकाशनमा ननग्रेडिङ हुने लेटर ग्रेडिङ निर्देशिका २०७८ ले व्यवस्था गरेको छ। गत वर्ष ५२ प्रतिशत विद्यार्थी कक्षा १२ मा ग्रेडिङ अर्थात उत्तीर्ण भएका थिए।
विद्यार्थीले कुन श्रेणीमा कति ग्रेड ल्याए
यो वर्ष कुल २ लाख ८४ हजार ३०५ विद्यार्थी 'ग्रेडेड' वा उत्तीर्ण भएका बोर्डका अध्यक्ष महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत् जानकारी दिए।
उनका अनुसार ३.६१ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको सङख्या १३ हजार ५०२ रहेको छ भने ३.२१ देखि ३.६० ल्याउने विद्यार्थीको सङ्ख्या ५५ हजार ८९६ रहेको छ।
त्यस्तै २.८१ देखि ३.२० ग्रेड ल्याउने विद्यार्थीको सङ्ख्या ९४ हजार २६८ रहेको छ। सबैभन्दा धेरै विद्यार्थी यही समूहमा रहेको शर्माले जानकारी दिए।
उनका अनुसार २.४१ देखि २.८० ल्याउने विद्यार्थीको सङ्ख्या ५९ हजार ८१२ छ भने २.०१ देखि २.४० ल्याउने विद्यार्थीको सङ्ख्या आठ हजार ९६४ र सबैभन्दा कम १.६१ देखि २ जीपीए ल्याउने विद्यार्थी २३ जना रहेका छन्। कुल ननग्रेडेड (अनुत्तीर्ण) विद्यार्थीको सङ्ख्या १ लाख ९३ हजार ८८२ रहेको छ।
सबैभन्दा धेरै अङ्ग्रेजी विषयमा ६६ हजार २७५ ननग्रेडेड भएका छन् त्यस्तै अकाउन्टिङमा ४१ हजार २६३ र सामाजिक शिक्षामा ३३ हजार ९२१ ननग्रेडेड भएका छन्। त्यस्तै नेपालीमा २८ हजार ३५६ जना 'ननग्रेडेड' भएका छन्। उत्तीर्ण हुन नसकेका विद्यार्थीको भदौ २८ र २९ मा ग्रेड वृद्धि परीक्षा हुने बोर्डले जनाएको छ।
गत वैशाखमा देशभर सञ्चालित कक्षा १२ को परीक्षामा ५ लाख ११ हजार परीक्षार्थी सहभागी थिए। नियमिततर्फ ३ लाख ९५ हजार र आंशिक १ लाख १५ हजार परीक्षार्थी छन्।