काठमाडौँ - नेपालमा स्थापना भएको शैक्षिक परामर्श संस्था एक्सेस एजुकेसन नेटवर्कले अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। न्युजिल्यान्डको प्रतिष्ठित शैक्षिक संस्था टोई ओहोमाई इन्स्टिच्युट अफ टेक्नोलोजीले एक्सेस एजुकेसन नेटवर्कलाई सन् २०२६ को ‘विश्वकै नम्बर १ ग्लोबल पर्फर्मिङ पार्टनर’ अवार्ड प्रदान गरेको छ।
अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा नेपाली संस्थाले प्राप्त गरेको यस उपलब्धिलाई नेपालको शैक्षिक परामर्श क्षेत्रका लागि महत्वपूर्ण सम्मानका रूपमा लिइएको छ। सन् २०२६ अक्टोबर २१ अर्थात् विजयादशमीका दिन भारतको नयाँ दिल्लीस्थित द ललित होटलमा आयोजित विशेष समारोहमा उक्त अवार्ड प्रदान गरिएको हो।
समारोहमा टोई ओहोमाई इन्स्टिच्युट अफ टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत डा. पिम बोरेन, विशेष परियोजनाका निर्देशक परमदीप सिंह तथा एजुकेसन न्युजिल्यान्डका भारत तथा दक्षिण एसियाका क्षेत्रीय निर्देशक एड्रियन हर्स्टलगायतको उपस्थिति थियो। अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रका प्रतिनिधिहरूको उपस्थितिमा प्रदान गरिएको उक्त सम्मानले दुई संस्थाबीचको सहकार्यलाई थप महत्व दिएको छ।
एक्सेस एजुकेसन नेटवर्कका तर्फबाट संस्थापक पुष्पराज पौड्याल र उनकी छोरी आर्या पौड्यालले अवार्ड ग्रहण गरेका थिए। सोही अवसरमा आर्या पौड्यालले धन्यवाद मन्तव्य व्यक्त गर्दै टोई ओहोमाई इन्स्टिच्युट अफ टेक्नोलोजीप्रति विश्वास, सहकार्य र सम्मानका लागि आभार व्यक्त गरेकी थिइन्।
सन् २००५ मा स्थापना भएको एक्सेस एजुकेसन नेटवर्कले सन् २००६ देखि नेपालमा न्युजिल्यान्डको शिक्षालाई प्रवर्द्धन गर्दै आएको छ। दुई दशकभन्दा लामो अनुभवका आधारमा संस्थाले नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षाका अवसरसँग जोड्दै आएको छ। विद्यार्थीको शैक्षिक योग्यता, रुचि, करियरको लक्ष्य र व्यक्तिगत अवस्थाअनुसार उपयुक्त शैक्षिक संस्था तथा अध्ययन कार्यक्रम छनोट गर्न सहयोग गर्नु संस्थाको प्रमुख कार्यक्षेत्र हो।
संस्थाले विदेश अध्ययन गर्न चाहने विद्यार्थीलाई शैक्षिक परामर्श, कलेज तथा विश्वविद्यालय छनोट, भर्ना प्रक्रिया, विद्यार्थी भिसा आवेदन, आवश्यक कागजात तयारी र विदेश जानुअघिको मार्गदर्शन प्रदान गर्दै आएको छ। विद्यार्थीलाई सही सूचना र जिम्मेवार परामर्श उपलब्ध गराउँदै अध्ययनका लागि उपयुक्त निर्णय लिन सहयोग गर्नु आफ्नो प्राथमिकता रहेको संस्थाले जनाएको छ।
न्युजिल्यान्डमा अध्ययनरत नेपाली विद्यार्थीलाई समेत आवश्यक सहयोग पुर्याउने उद्देश्यले संस्थाले त्यहाँ तीनवटा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ। भिसा नवीकरण, आवश्यक कागजातसम्बन्धी मार्गदर्शन, शैक्षिक संस्थासँग समन्वय तथा अध्ययनका क्रममा आवश्यक पर्ने अन्य सहयोगमा पनि संस्थाले सहजीकरण गर्दै आएको छ।
विजयादशमीको दिन प्राप्त अन्तर्राष्ट्रिय सम्मानले संस्थाका लागि थप विशेष महत्व राखेको छ। संस्थाले यस उपलब्धिलाई आफ्नो लामो समयदेखिको मेहनत, कर्मचारीको समर्पण, विद्यार्थीप्रतिको जिम्मेवारी र अन्तर्राष्ट्रिय शैक्षिक साझेदारहरूसँग स्थापित विश्वासको प्रतिफलका रूपमा लिएको छ।
एक्सेस एजुकेसन नेटवर्कले टोई ओहोमाई इन्स्टिच्युट अफ टेक्नोलोजी, एजुकेसन न्युजिल्यान्ड तथा आफ्ना सम्पूर्ण अन्तर्राष्ट्रिय साझेदारप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि नेपाली विद्यार्थीलाई गुणस्तरीय अन्तर्राष्ट्रिय शिक्षाका अवसर उपलब्ध गराउन प्रतिबद्धता जनाएको छ।
नेपालमा स्थापना भएर अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सफल एक्सेस एजुकेसन नेटवर्कको यो उपलब्धिले नेपाली शैक्षिक परामर्श संस्थाहरूले पनि विश्वव्यापी शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिन सक्ने सम्भावनालाई उजागर गरेको छ। संस्थाका लागि यो अवार्ड विगतको उपलब्धिको सम्मान मात्र नभई आगामी दिनमा अझ जिम्मेवार र गुणस्तरीय सेवा प्रदान गर्ने प्रेरणासमेत बनेको छ।