काठमाडौं - बीसाइड्स काठमाडौं २०२६ अन्तर्गत आयोजित साइबर सुरक्षा प्रतियोगिता ‘क्याप्चर द फ्ल्याग’ (सीटीएफ) मा सफ्टवेरिका कलेज अफ आईटी एन्ड ई–कमर्सका विद्यार्थीले उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष तीनवटै स्थान हासिल गरेका छन्।
नोभेम्बर २१ मा काठमाडौंको बूढानीलकण्ठस्थित लेमन ट्री प्रिमियरमा आयोजित प्रतियोगितामा सफ्टवेरिका कलेजका तीन टोली प्रथम, द्वितीय र तृतीय भएका हुन्। प्रतियोगितामा गौरव पौडेल, सोचन डंगोल, रिदम पाण्डे र प्रत्यूष राजभण्डारी सम्मिलित ‘भायोलेट’ टोलीले पहिलो स्थान हासिल गर्यो। प्रणय निधि, सुबेग सुवाल, दिपेश गिरी र योगेन्द्र बडू सम्मिलित ‘प्रिज्म’ टोली दोस्रो तथा विशेष खड्का, विकी ताजपुरिया, सफल गौतम र महेन्द्र नाथ सम्मिलित ‘सुडो सिब्लिङ्स’ टोली तेस्रो भए। प्रतियोगितामा नौ टोलीका २८ सहभागीले प्रत्यक्ष ह्याकिङ चुनौती, समस्या समाधान तथा वास्तविक साइबर सुरक्षा घटनामा आधारित अभ्यासमार्फत प्रतिस्पर्धा गरेका थिए। उत्कृष्ट तीन टोलीका लागि १२ लाख रुपैयाँभन्दा बढी मूल्यका पुरस्कार व्यवस्था गरिएको थियो।
बीसाइड्स काठमाडौं २०२६ विश्वव्यापी बीसाइड्स साइबर सुरक्षा समुदायको नेपालमा पहिलो संस्करण हो । प्रतियोगिताले विद्यार्थी, अनुसन्धानकर्ता तथा प्राविधिक जनशक्तिलाई साइबर सुरक्षा क्षेत्रमा आफ्नो ज्ञान, सीप र क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ। प्रतियोगितामा ह्याकएटसेक आधिकारिक सीटीएफ साझेदारका रूपमा रहेको थियो भने सीभीई प्लेग्राउन्डले प्राविधिक पूर्वाधारमा सहयोग गरेको थियो।
सफ्टवेरिका कलेजका विद्यार्थीले यसअघि पनि विभिन्न राष्ट्रियस्तरका ह्याकाथन तथा सीटीएफ प्रतियोगितामा सफलता हासिल गर्दै आएका छन्। कलेजले व्यावहारिक सिकाइ, प्राविधिक सीप विकास र उद्योगसँगको सहकार्यलाई प्राथमिकता दिँदै विद्यार्थीलाई प्रतिस्पर्धात्मक तथा रोजगारमुखी बनाउने प्रयास गर्दै आएको जनाएको छ।