काठमाडौँ - अष्ट्रेलियन एजुकेशन एजेन्ट्स रिप्रिजेन्टेटिभ्स इन्टरनेसनल (ऐरी) नेपालले वार्षिक साधारणसभा (एजीएम) तथा आठौँ ‘इम्प्याक्ट फोरम–अष्ट्रेलियन एजुकेशन’ सम्पन्न गरेको छ। काठमाडौंको नयाँ बानेश्वरस्थित द एभरेस्ट होटलमा आयोजित कार्यक्रममा नेपाल–अष्ट्रेलिया शैक्षिक सम्बन्ध, अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा देखिएका परिवर्तन तथा विद्यार्थीकेन्द्रित अभ्यासबारे छलफल गरिएको थियो।
कार्यक्रममा ऐरी नेपालका अध्यक्ष द्विराज शर्माले स्वागत मन्तव्य दिँदै नेपालमा अष्ट्रेलियाली शिक्षाको प्रवर्द्धनमा ऐरी नेपाल र यसका सदस्य संस्थाले खेल्दै आएको भूमिकाबारे चर्चा गरे। उनले नैतिक, व्यावसायिक, पारदर्शी तथा विद्यार्थीकेन्द्रित अभ्यासमार्फत अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रलाई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिए।
कार्यक्रमका प्रमुख अतिथि नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले कार्यक्रममा सहभागी हुँदै नेपाल–अष्ट्रेलिया शैक्षिक सम्बन्धलाई थप मजबुत बनाउन आवश्यक सहकार्यबारे धारणा राखे। कार्यक्रममा अष्ट्रेलियाको अन्तर्राष्ट्रिय शिक्षा संघका प्रमुख कार्यकारी अधिकृत फिल हनिवुड, अष्ट्रेलियन ट्रेड एन्ड इन्भेस्टमेन्ट कमिसनका विक सिंह, अष्ट्रेलियाको शिक्षा विभागका जर्ज थिभियोस तथा गृह मामिला विभागका मन्त्रीस्तरीय सल्लाहकार एवं दक्षिण एसियाका क्षेत्रीय निर्देशक स्टिभन बिडललगायतको सहभागिता थियो।

कार्यक्रममा नेपाल सरकारका प्रतिनिधि, अष्ट्रेलियाका विभिन्न शैक्षिक संस्थाका प्रतिनिधि, नेपालका शैक्षिक संस्था, उद्योग क्षेत्रका सरोकारवाला, साझेदार संस्था, प्रायोजक, ऐरी नेपालका सदस्य तथा शुभेच्छुकहरूको समेत उपस्थिति रहेको थियो।
आठौँ इम्प्याक्ट फोरमले नेपालमा अष्ट्रेलियाली शिक्षाको बढ्दो महत्त्व, अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा भइरहेको परिवर्तन तथा त्यसको प्रभावबारे छलफल गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ। कार्यक्रममा जिम्मेवार अन्तर्राष्ट्रिय शिक्षा अभ्यास, आपसी सहकार्य तथा नेपाल र अष्ट्रेलियाबीचको शैक्षिक साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा अष्ट्रेलियाको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रसँग सम्बन्धित विषयमा प्यानल छलफल गरिएको थियो। महेशबाबु तिमल्सिनाले सहजीकरण गरेको छलफलमा युनिभर्सिटी अफ सदर्न क्वीन्सल्यान्ड, चार्ल्स डार्विन युनिभर्सिटी र एक्सेल्सिया युनिभर्सिटी कलेजका प्रतिनिधिहरू सहभागी थिए।
प्यानल छलफलमा अष्ट्रेलियाको वर्तमान अन्तर्राष्ट्रिय शिक्षा क्षेत्र, विद्यार्थीका लागि देखिएका अवसर तथा चुनौती, शिक्षा प्रदायक र शैक्षिक परामर्श संस्थाबीचको सहकार्यलगायतका समसामयिक विषयमा धारणा आदानप्रदान गरिएको थियो।

ऐरी नेपालले कार्यक्रम सफल बनाउन सहयोग गर्ने अतिथि, वक्ता, प्यानल सदस्य, सदस्य संस्था, साझेदार, प्रायोजक, शिक्षा प्रदायक, सरोकारवाला तथा सहभागी सबैप्रति आभार व्यक्त गरेको छ। आयोजकका अनुसार सहभागीहरूको सक्रिय उपस्थिति र निरन्तर सहयोगले एजीएम तथा आठौँ इम्प्याक्ट फोरमलाई अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रका लागि महत्वपूर्ण र प्रभावकारी कार्यक्रम बनाउन सहयोग पुगेको छ।
ऐरी नेपालले नेपाल र अष्ट्रेलियाबीचको शैक्षिक सम्बन्धलाई अझ सुदृढ गर्दै जिम्मेवार, पारदर्शी र विद्यार्थीकेन्द्रित अन्तर्राष्ट्रिय शिक्षा अभ्यासलाई निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएको छ।