काठमाडौँ - आंशिक प्राध्यापकहरूले त्रिभुवन विश्वविद्यालयको उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रार र सेवा आयोगमा लगाएको ताला खोलेका छन्। सर्वोच्च अदालतले बुधबार त्रिविमा लगाएको ताला तत्काल खोल्न आदेश दिएको थियो।
अदालतले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी वृत्त कीर्तिपुरको नाममा तत्काल ताला खाेल्न अन्तरिम आदेश जारी गरेको थियो। तर शुक्रबार बिहान आंशिक प्राध्यापकहरूले आफैँ ताला खोलेका छन्। फास्ट ट्रयाकबाट प्राध्यापक नियुक्त गर्न लागेको भन्दै ३० जेठमा आंशिक प्राध्यापक संघले तालाबन्दी गरेको थियो।
शुक्रबार त्रिविको ६६ औँ वार्षिकोत्सव पनि थियो। त्रिभुवन स्मृति भवानमा वार्षिकोत्सव कार्यक्रम सुरु हुनुअघि नै आंशिक प्राध्यापकले गएर ताला खोलेका हुन्। त्रिविका रजिस्ट्रार प्रा.डा केदारप्रसाद रिजालले आंशिक प्राध्यापकले ताला खोलेको जानकारी आएको बताए। ‘ताला खोलेको सूचना आएको छ,’ उनले भने।
तर नेविसंघ निकट विद्यार्थीले लगाएको ताला भने खुलेको छैन। स्नातक पहिलो वर्षको भर्ना खुलाउनु पर्ने माग राखेर नेविसंघबाट निर्वाचित भएका काठमाडौंमा स्ववियु पदाधिकारीले उपकुलति, रेक्टर र रजिस्ट्रारको कार्यकक्षमा ताला लगाएका थिए।
ताला सँगै उनीहरूले उपकुलपतिको कार्यकक्षमा तोडफोड गरेका थिए। तोडफोडमा संलग्नलाई कारबाहीको माग गर्दै त्रिविले जाहेरी दिएको थियो। तर अहिलेसम्म कारबाही भएको छैन। पक्राउ परेका दुई जनालाई पनि छोडिसकेको छ।
तालाबन्दीका कारण उपकुलपति प्रा.डा. खड्ग केसी, रेक्टर प्रा.डा. दुविनन्द ढकाल र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजाल बाहिरै बसेर काम गरिरहेका छन्।
विद्यार्थीले लगाएको ताला आफैँ नखोले अदालतको आदेश अनुसार प्रशासनले खोल्ने तयारी छ। अदालतको आदेश गृह मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालयमा आएपछि प्रहरीले खोल्ने बताइएको छ।तालाबन्दीकै बीच त्रिविले शुक्रबार आफ्नो ६६ औँ वार्षिकोत्सव मनाएको छ।