काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले शैक्षिक वर्ष २०८३/०८४ मा स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीका लागि रजिस्ट्रेसन प्रक्रिया सुरु गरेको छ। विश्वविद्यालयले भर्ना समूह २०८३ (२०२६) अन्तर्गतका विद्यार्थीको रजिस्ट्रेसनसम्बन्धी सूचना जारी गर्दै अनलाइनमार्फत फाराम भर्न आग्रह गरेको हो।
त्रिविअन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा अध्ययनरत स्नातक तहका विद्यार्थीले अनलाइनमार्फत रजिस्ट्रेसन गर्नुपर्नेछ। चिकित्सा शास्त्र अध्ययन संस्थानका विद्यार्थीबाहेक अन्य सबै संकायका विद्यार्थीका लागि यो व्यवस्था लागू हुने सूचनामा उल्लेख छ।
विश्वविद्यालयका अनुसार सूचना प्रकाशित भएको मितिदेखि २०८३ साल माघ १५ गतेसम्म विद्यार्थीले अनलाइन फाराम भर्न सक्नेछन्। विद्यार्थीले अनलाइन फाराम भरेपछि सम्बन्धित क्याम्पसले तोकेको मितिभित्र रजिस्ट्रेसनका लागि आवेदन दिने विद्यार्थीको फाराम रुजु गरी आवश्यक कागजात तथा शुल्क परीक्षा नियन्त्रण कार्यालय, बल्खुमा पठाउनुपर्नेछ।
रजिस्ट्रेसन शुल्क विदेशी विद्यार्थीका लागि एक हजार पाँच सय रुपैयाँ र स्वदेशी विद्यार्थीका लागि एक हजार रुपैयाँ निर्धारण गरिएको छ।
विश्वविद्यालयले विद्यार्थीलाई त्रिविको अनलाइन पोर्टलमार्फत रजिस्ट्रेसन फाराम भर्न र SEE/SLC तथा कक्षा १२ तहका सम्पूर्ण आवश्यक कागजात अपलोड गर्न निर्देशन दिएको छ। विद्यार्थीले अनलाइन फाराम भरेपछि सम्बन्धित क्याम्पसमा समेत उपस्थित भएर आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ।
क्याम्पसले विद्यार्थीबाट प्राप्त फाराममा संलग्न कागजात रुजु गरी आवश्यक कागजातसहित तोकिएको शुल्क परीक्षा नियन्त्रण कार्यालय, बल्खुमा बुझाउनुपर्नेछ।
त्यस्तै, रजिस्ट्रेसन फाराम बुझाइसकेपछि प्रथम वर्षको परीक्षा सञ्चालन नभएसम्म विद्यार्थीलाई कुनै पनि माइग्रेसन नदिइने विश्वविद्यालयले स्पष्ट पारेको छ। यससम्बन्धी जानकारी सम्बन्धित क्याम्पस तथा कलेजलाई समेत गराइएको छ।
विश्वविद्यालयले क्याम्पस तथा कलेजहरूलाई रजिस्ट्रेसन फारामबापत तोकिएको शुल्कबाहेक बढी रकम नलिन निर्देशन दिएको छ। तोकिएकोभन्दा बढी रकम भुक्तानी भएमा पछि प्राप्त हुने रजिस्ट्रेसन फाराममा उक्त रकम मिलान नगरिने सूचनामा उल्लेख छ।
रजिस्ट्रेसन फारामसँग SEE/SLC वा सोसरहको मार्कसिट, कक्षा १२ को मार्कसिट, क्यारेक्टर सर्टिफिकेट, प्रोभिजनल सर्टिफिकेटको प्रतिलिपि, ओरिजिनल माइग्रेसन तथा विदेशी बोर्डका हकमा इक्विभ्यालेन्ट लेटरको प्रतिलिपि अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ।
क्याम्पस तथा कलेजहरूले विद्यार्थीबाट प्राप्त विवरण प्रमाणित गरी अनलाइनमार्फत नै रजिस्ट्रेसन प्रक्रिया पूरा गर्नुपर्ने विश्वविद्यालयले जनाएको छ।
उक्त सूचना परीक्षा नियन्त्रक प्रा. डा. लक्ष्मण पौडेलले जारी गरेका हुन्।
