काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आवश्यक भौतिक पूर्वाधार, जनशक्ति र निर्धारित मापदण्ड पूरा नगरेका कलेजहरूलाई समेत नयाँ शैक्षिक कार्यक्रम, विषय, सेक्सन तथा विद्यार्थी कोटा थपका लागि योग्य ठहर गरेको भन्दै विवाद चर्किएको छ।
कार्यक्रम विस्तारका लागि ६८१ कलेज समेटिएको प्रारम्भिक सूची सार्वजनिक भएपछि विश्वविद्यालयको निर्णयमाथि विद्यार्थी प्रतिनिधि र प्राध्यापकहरूले प्रश्न उठाएका हुन्।
काठमाडौँ उपत्यकाका आंगिक क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षहरूले उपकुलपति प्रा.डा. भोला थापालाई भेटेर सूची तत्काल खारेज गर्न माग गरेका छन्। उनीहरूले विश्वविद्यालयको सम्बन्धनसम्बन्धी विनियम र निर्धारित मापदण्डविपरीत कलेजहरूलाई कार्यक्रम विस्तारका लागि योग्य ठहर गरिएको आरोप लगाएका छन् ।
त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरका स्ववियु अध्यक्ष दीपकराज जोशीले शैक्षिक तथा भौतिक पूर्वाधार अभावका कारण सम्बन्धन खारेज गर्नुपर्ने अवस्थामा रहेका कलेजहरूलाई समेत नयाँ कार्यक्रम, विषय, सेक्सन र विद्यार्थी कोटा थप गर्ने सूचीमा समावेश गरिएको दाबी गरे। एउटै परिसरमा दुई फरक विश्वविद्यालयका कार्यक्रम सञ्चालन गरिरहेका संस्थालाई समेत कार्यक्रम विस्तारका लागि योग्य ठहर गरिएको भन्दै उनले विश्वविद्यालयको निर्णयप्रति असन्तुष्टि जनाए।
जोशीले त्रिविले मातहतका कलेजहरूको अनुगमन र नियमन प्रभावकारी बनाउनुपर्ने बताउँदै योजना निर्देशनालय तथा सम्बन्धित डिन कार्यालयले शैक्षिक गुणस्तर र सुशासन कायम गर्न जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे। सम्बन्धन प्राप्तिको मूल्यांकनमा आर्थिक चलखेल भएको गुनासोसमेत उठेकाले त्यसबारे निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न उनले माग गरे।
विद्यार्थी प्रतिनिधिहरूले मापदण्डविपरीत योग्य ठहर गरिएका कलेजको निर्णय पुनरावलोकन, हालको प्रक्रिया रद्द तथा निष्पक्ष अनुगमन प्रणाली लागू गर्नुपर्ने माग गरेका छन्। माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।
आंगिक क्याम्पसमा सिट खाली, निजीमा कार्यक्रम विस्तार
पाटन संयुक्त क्याम्पसका स्ववियु सभापति रोहित कपालीले आंगिक क्याम्पसमा विद्यार्थी संख्या घट्दै सिट खाली भइरहेका बेला निजी कलेजलाई कार्यक्रम थप गर्न दिनु विश्वविद्यालयको आंगिक संरचनालाई कमजोर बनाउने कदम भएको टिप्पणी गरे।
उनका अनुसार पाटन संयुक्त क्याम्पसको बीबीए कार्यक्रममा दुईवटा र पद्मकन्या क्याम्पसमा आठवटा सिट खाली छन् । आंगिक क्याम्पसमा विद्यार्थी संख्या घटिरहेको अवस्थामा निजी कलेजलाई धमाधम कार्यक्रम तथा सम्बन्धन विस्तारको अवसर दिनु उचित नभएको उनको भनाइ छ ।
कपालीले अनुगमनका क्रममा नवीकरण हुन नहुने तथा सम्बन्धन खारेज गर्नुपर्ने कलेजहरू पनि योग्य ठहरिएको आरोप लगाए । त्रिवि सम्बन्धनसम्बन्धी विनियम, २०७३ विपरीत एउटै कलेजले दुई विश्वविद्यालयका कार्यक्रम सञ्चालन गरिरहेको विषय उठाउँदै उनले प्रक्रिया रद्द गरी सम्बन्धित डिन कार्यालयमार्फत निष्पक्ष सर्वेक्षण गरेर पुनः प्रक्रिया अघि बढाउनुपर्ने माग गरे ।
प्राध्यापकहरू पनि निर्णयप्रति असन्तुष्ट
कार्यक्रम विस्तारको तयारीप्रति प्राध्यापकहरूले समेत आलोचना गरेका छन् । त्रिविका प्रा.डा. निरञ्जन पराजुलीले निजी कलेजको प्रभाव र स्वार्थ हाबी हुँदै ठूलो संख्यामा कार्यक्रम तथा सम्बन्धन विस्तार गर्न खोज्नु विश्वविद्यालयको दीर्घकालीन हितविपरीत भएको बताए।
उनले उपकुलपति प्रा.डा. भोला थापा नेतृत्वको टोली विश्वविद्यालयको सुधार, सुदृढीकरण र शैक्षिक गरिमा कायम गर्ने दिशामा अघि बढ्न नसकेको आरोप लगाए। यस्तो निर्णयले नेपालको उच्च शिक्षालाई थप अस्तव्यस्त बनाउनुका साथै त्रिविको संस्थागत भविष्य र शैक्षिक गुणस्तरमा असर पार्न सक्ने उनको भनाइ छ।
पराजुलीले विश्वविद्यालयको निर्णयविरुद्ध प्राज्ञिक समुदायले आवाज उठाउनुपर्ने बताउँदै निजी कलेजको स्वार्थका लागि विश्वविद्यालय कमजोर बनाउने प्रयास स्वीकार्य नहुने धारणा राखे।
त्रिविको स्पष्टीकरण : प्रारम्भिक सूची मात्रै हो
विवाद बढेपछि त्रिभुवन विश्वविद्यालय प्रशासनले कार्यक्रम तथा कोटा विस्तारका लागि सार्वजनिक गरिएको सूची अन्तिम निर्णय नभई प्रारम्भिक सूची मात्रै भएको स्पष्ट पारेको छ।
त्रिविका प्रवक्ता नविन्द्र भण्डारीले आन्तरिक अनुगमनका आधारमा योग्य देखिएका कलेजहरूको सूची सार्वजनिक गरिएको बताउँदै त्यसमा चित्त नबुझे उजुरी तथा दाबी–विरोध गर्न सकिने जानकारी दिए।
उनका अनुसार सूचीलाई अन्तिम रूप दिनुअघि उजुरीमाथि सुनुवाइ तथा आवश्यक छानबिन गरिनेछ । मूल्यांकनमा गल्ती भएको वा नियमविपरीत काम गरेको प्रमाणित भएमा त्यस्ता कलेजले कार्यक्रम थपको अनुमति नपाउने र दोषीमाथि कारबाही हुने उनले बताए।
यसैबीच, त्रिवि योजना निर्देशनालयले सूचीकृत कलेजहरूलाई एउटै परिसरमा त्रिविबाहेक अन्य स्वदेशी वा विदेशी विश्वविद्यालय, परीक्षा बोर्ड अथवा परिषद्बाट सम्बन्धन लिई कार्यक्रम सञ्चालन नगरेको स्वघोषणापत्र बुझाउन निर्देशन दिएको छ । विश्वविद्यालय कार्यकारी परिषद्को २०८३ कात्तिक २१ गतेको निर्णयअनुसार उक्त विवरण मंसिर १५ गतेभित्र पेस गर्नुपर्नेछ।
स्वघोषणापत्र क्याम्पसको आधिकारिक लेटरहेडमा क्याम्पस प्रमुखको हस्ताक्षर र छापसहित पठाउनुपर्नेछ । विवरण झुटो ठहरिएमा वा नियमविपरीत कार्यक्रम सञ्चालन गरेको पाइएमा विश्वविद्यालयको नियमानुसार कारबाही भोग्न मञ्जुर रहेको प्रतिबद्धतासमेत खुलाउनुपर्ने निर्देशनमा उल्लेख छ।
सम्बन्धन प्राप्त गर्ने प्रक्रिया के हो ?
त्रिवि सम्बन्धनसम्बन्धी विनियम, २०७३ तथा संशोधनअनुसार सम्बन्धन वा कार्यक्रम विस्तारका लागि कलेजले विश्वविद्यालयको सम्बन्धन व्यवस्थापन निर्देशनालयले प्रकाशित गरेको सूचनाअनुसार प्रस्ताव, शुल्क र आवश्यक कागजातसहित आवेदन दिनुपर्छ।
प्राविधिक कार्यक्रम सञ्चालन गर्न चाहने संस्थाले पहिले विश्वविद्यालयबाट प्राविधिक प्रस्ताव स्वीकृत गराई शिक्षा मन्त्रालयबाट मनसायपत्र लिनुपर्ने व्यवस्था छ। त्यसपछि सम्बन्धित डिन कार्यालयमार्फत विज्ञ टोलीले सम्भाव्यता अध्ययन तथा अनुगमन गर्छ।
विज्ञ टोलीको अध्ययनपछि विद्यापरिषद् र सम्बन्धन समितिको सिफारिसका आधारमा कार्यकारी परिषद्ले सम्बन्धन वा कार्यक्रम थपको निर्णय गर्छ। विषय, तह, सेक्सन वा विद्यार्थी कोटा थपका विषयमा नियमअनुसार प्राज्ञिक परिषद्को स्वीकृति आवश्यक पर्ने व्यवस्था छ।
सम्बन्धन प्राप्त कलेजले अध्यक्षसहित कम्तीमा पाँच सदस्यीय सञ्चालक समिति गठनका लागि विधान स्वीकृत गराउनुपर्ने, विश्वविद्यालयको प्रवेश परीक्षा र योग्यताक्रमअनुसार विद्यार्थी भर्ना गर्नुपर्ने तथा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने दायित्व हुन्छ। भर्ना हुने विद्यार्थीमध्ये कम्तीमा १० प्रतिशतलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था पनि विनियममा रहेको छ।
त्यस्तै, योग्य शिक्षक तथा कर्मचारी नियुक्ति, भौतिक पूर्वाधार र मानव संसाधन विकास योजना, वार्षिक शैक्षिक तथा आर्थिक प्रतिवेदन, लेखापरीक्षण, शुल्क र शिक्षक विवरण बुझाउने तथा प्रत्येक दुई वर्षमा सम्बन्धन नवीकरण गर्नुपर्ने प्रावधान छन्।
अस्थायी सम्बन्धनको कम्तीमा पाँच वर्ष पूरा भएपछि क्यू.ए.ए. (गुणस्तर सुनिश्चितता तथा प्रत्यायन) प्रमाणपत्र, सन्तोषजनक शैक्षिक नतिजा, आफ्नै जग्गा तथा भवनलगायत निर्धारित सर्त पूरा गरेको संस्थाले स्थायी सम्बन्धनका लागि प्रक्रिया अघि बढाउन सक्छ। स्थायी सम्बन्धन बढीमा सात वर्षसम्म प्रदान गर्न सकिने व्यवस्था छ।
६८१ कलेजको कार्यक्रम विस्तारसम्बन्धी निर्णयले त्रिविको सम्बन्धन प्रक्रिया, अनुगमन प्रणाली, शैक्षिक गुणस्तर र आंगिक तथा निजी क्याम्पसबीचको सन्तुलनबारे नयाँ बहस सिर्जना गरेको छ। प्रारम्भिक सूचीमाथि हुने दाबी विरोध र छानबिनपछि विश्वविद्यालयले कस्तो निर्णय लिन्छ भन्ने विषय अब चासोको केन्द्र बनेको छ।