काठमाडाैँ - नेपाल कम्युनिष्ट पाटी माओबादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले शिक्षक नियुक्ति शत प्रतिशत खुल्ला गर्न माग गरेको छ। आइतबार विज्ञप्ति जारी गर्दै ७० लाख भन्दा धेरै विद्यार्थीको भविष्यसँग प्रत्यक्ष जोडिएको विद्यालय शिक्षा विधेयक पारित गर्ने वातावरण बनाउन माग गरेको हाे।
संगठनका अध्यक्ष विजय प्रकाश शर्मा सापकोटाले हस्ताक्षर गरेको विज्ञप्तिमा धेरै पैसा धेरै शिक्षा, कम पैसा कम शिक्षा,छैन पैसा छैन शिक्षा नीति भत्काउन जरुरी रहेको बताइएको छ।
विज्ञप्तीमा भनिएको छ :
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले यसको स्थापनाको समय सँगै राष्ट्रियता, जनजिविका र शैक्षिक क्षेत्रको विकासका लागि सदा अग्रमोर्चामा रहेर संघर्ष गर्दै आएको कुरा सर्वविदितै छ। नेपालमा नयाँ संविधान बनेको १० वर्ष पछि झण्डै ५४ वर्ष पुरानो २०२८ सालको शिक्षा ऐन विस्थापन गर्ने गरि विद्यालय शिक्षा विधेयक आउदै गर्दा शिक्षा जस्तो महत्त्वपूर्ण विषय आम चासो, चिन्ता र सरोकारको विषय बन्नु स्वभाविक छ। हाल विधेयकले विभेदकारी शिक्षा नितिलाई कसरी निरुत्साहित गर्छ, यो आम चासोको विषय बन्न पुगेको छ।
संविधानमा शिक्षालाई मौलिक अधिकारको रुपमा सुनिश्चित गरिएको छ। संविधान प्रदत मौलिक हक अनुरुप प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुचको हक हुने र प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तह सम्मको शिक्षा अनिवार्य र निशुल्क तथा माध्यमिक तह सम्मको शिक्षा निशुल्क प्राप्त गर्ने स्पष्ट व्यवस्था गरिएको छ। नयाँ शिक्षा विधेयकले नेपालको संविधान कार्यान्वयन गर्ने, संघियताको मर्म बोकेको, राज्यको पुनर्संरचना अनुरुप बन्नु पर्दछ भन्ने हाम्रो सङ्गठनको स्पष्ट मान्यता हो। शिक्षामा दोहोरो मापदण्ड कायम हुदाँ धेरै पैसा धेरै शिक्षा, कम पैशा कम शिक्षा, छैन पैसा छैन शिक्षा भन्ने परम्परा भत्काउन जरुरी छ। विधेयकलाई संविधान अनुरुप बनाउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्रीज्यु, प्रतिनिधि सभा मातहतको शिक्षा, स्वास्थ्य तथा सुचना प्रविधि समितिका माननीय सभापतीज्यु र माननीय सदस्यज्युहरुको विद्यालय शिक्षा विधेयकमा रहेको विभेदकारी नीति हटाएर समानताको हक ग्यारेन्टी गर्न नेतृत्वदायी भूमिका निर्वाह गरिदिनु हुन विशेष अपिल गर्दछौँ। अनेरास्ववियू (क्रान्तिकारी) शिक्षा विधेयक निर्माण र संसदमा टेवल गराउनको लागि विभिन्न चरणका दवाव मुलक कार्यक्रमहरुमा निरन्तर सहभागी बन्दै आएको संगठन हो।
विद्यालय शिक्षा विधेयक मार्फत सार्वजनिक शिक्षालाई विभिन्न स्वार्थ केन्द्रीत समुहको चंगुलबाट मुक्त होस् भन्ने अपेक्षा सहित संविधानमा आधारित शिक्षाको विषयलाई व्यवहारिक कार्यान्वयन गराउने विषयप्रति ध्यानाकर्षण गराउँद्छौँ।
अन्त्यमा शिक्षक बनेर देशको सेवा गर्ने उदेश्य बोकेका उर्जावान युवाहरुको प्रतिस्पर्धाको मार्ग फराकिलो बनाउन शिक्षक नियुक्तीको विषय शत-प्रतिशत खुल्ला प्रतिस्पर्धा मार्फत हुने व्यवस्था सुनिश्चित गर्दै ७० लाख भन्दा बढी विद्यार्थीहरुको भविस्यसँग प्रत्यक्ष जोडिएको विद्यालय शिक्षा विधेयक पारित गर्ने वातावरण बनाउन नेपाल सरकार समक्ष जोडदार माग गर्दछौँ।