काठमाडौँ - लामो समयदेखि खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज हुन नसकेपछि विद्यार्थीहरूले सिलिन्डर बोकेर सिंहदरबार घेराउ गरेका छन्।
ग्यास अभावका कारण सर्वसाधारणको दैनिक जीवन प्रभावित भएको तथा होटल, रेस्टुरेन्ट र साना व्यवसायसमेत सञ्चालनमा समस्या देखिन थालेको भन्दै नेकपानिकट अखिल क्रान्तिकारीले बुधबार सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेको हो।
प्रदर्शनमा सहभागी विद्यार्थीहरूले खाली तथा प्रयोगमा रहेका ग्यास सिलिन्डर बोकेर सरकारको ध्यानाकर्षण गराएका थिए। उनीहरूले लामो समयदेखि ग्यास सहज रूपमा उपलब्ध नहुँदा विद्यार्थी, डेरामा बस्ने सर्वसाधारण, साना व्यवसायी तथा होटल सञ्चालक सबैभन्दा बढी प्रभावित भएको बताएका छन्।
प्रदर्शनकारीहरूले बजारमा पर्याप्त ग्यास आपूर्ति सुनिश्चित गर्न, कृत्रिम अभाव नियन्त्रण गर्न तथा कालोबजारीमा संलग्नमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्। साथै, ग्यास आपूर्तिको वास्तविक अवस्था सार्वजनिक गर्दै उपभोक्ताले सहज रूपमा सिलिन्डर पाउने व्यवस्था तत्काल मिलाउन उनीहरूले आग्रह गरेका छन्।
विद्यार्थीहरूका अनुसार राजधानीलगायत विभिन्न क्षेत्रमा करिब एक महिनादेखि ग्यास अभावको समस्या देखिँदै आएको छ। नियमित आपूर्ति नहुँदा उपभोक्ता घण्टौँसम्म लाइनमा बस्नुपर्ने अवस्था रहेको र कतिपय स्थानमा बढी मूल्य तिरेर ग्यास खरिद गर्नुपरेको उनीहरूको गुनासो छ।
ग्यास अभाव लम्बिँदै जाँदा राजधानीका केही होटल तथा भोजनालयको सञ्चालनसमेत प्रभावित हुन थालेको प्रदर्शनकारीहरूले बताएका छन्।
अत्यावश्यक वस्तुको आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गर्न सरकार गम्भीर बन्नुपर्ने माग गर्दै विद्यार्थीहरूले माग सम्बोधन नभए थप दबाबमूलक कार्यक्रम गर्ने चेतावनी दिएका छन्।
सिलिन्डर बोकेर सिंहदरबार पुगेका विद्यार्थीहरूको प्रदर्शनले लामो समयदेखि जारी ग्यास आपूर्ति समस्यालाई तत्काल समाधान गर्न सरकारमाथि थप दबाब सिर्जना गरेको छ।