काठमाडौँ - त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका विद्यार्थीले चीनको सिचुआनमा एआई तथा डिजिटल सञ्चारसम्बन्धी साताव्यापी प्रशिक्षण तथा अध्ययन भ्रमण पूरा गरेका छन्।
युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एन्ड टेक्नोलोजी अफ चाइना (युइएसटिसी) र त्रिविबीचको शैक्षिक सहकार्यअन्तर्गत आयोजित कार्यक्रममा विद्यार्थीले समाचार कक्षमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग, मानव–मेसिन सहकार्य, डिजिटल सामग्री उत्पादन, दृश्य कथा वाचन तथा मिथ्या र भ्रामक सूचना व्यवस्थापनबारे सैद्धान्तिक र व्यावहारिक ज्ञान हासिल गरेका थिए।
अध्ययन भ्रमणका क्रममा सहभागीले सिचुआन न्यूजनेट ग्रुप, सिचुआन टेलिभिजन, छेङ्दु राष्ट्रिय सुपर कम्प्युटिङ केन्द्र, एआईजिसी कार्यशाला, भर्चुअल उत्पादन स्टुडियो तथा रोबोट पार्कलगायतका संस्थाको अवलोकन गरेका थिए।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयसँगै पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका विद्यार्थीसमेत सहभागी थिए।
त्रिविका उपप्राध्यापक डा. ऋषिकेश दाहालले सञ्चार प्रविधिमा भइरहेको तीव्र परिवर्तनलाई नजिकबाट बुझ्न यस्ता शैक्षिक सहकार्यले नेपाली विद्यार्थीलाई महत्वपूर्ण अवसर प्रदान गर्ने बताए।
युइएसटिसी र त्रिभुवन विश्वविद्यालयबीचको चीन–नेपाल युवा शैक्षिक आदानप्रदान कार्यक्रमको यो दोस्रो वर्ष हो।
युइएसटिसीका प्राध्यापक चाङ स्युनले नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई सरकार–सरकारको तहमा मात्र सीमित नराखी जनस्तरसम्म विस्तार गर्न विभिन्न गतिविधि हुँदै आएको बताए। आगामी दिनमा पनि प्राज्ञिक क्षेत्रमा सहकार्यलाई निरन्तरता दिइने उनको भनाइ छ।
कार्यक्रममा त्रिवि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका अनुषा काफ्ले, दीक्षा राई, मोनिका वाइबा, लक्ष्मण गिरी र प्रियङ्का सुनार सहभागी थिए। नेपाली टोलीको नेतृत्व उपप्राध्यापक डा. ऋषिकेश दाहालले गरेका थिए।
भ्रमणमा त्रिविबाट सात जना, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयबाट दुई–दुई जना तथा काठमाडौं विश्वविद्यालयबाट एक जना सहभागी भएका थिए।
केन्द्रीय विभागका प्रमुख प्रा.डा. कुन्दन अर्यालले युइएसटिसीसँगको शैक्षिक सहकार्य निरन्तर रहेकाले आगामी वर्षमा पनि थप विद्यार्थीले यस्तो अवसर प्राप्त गर्ने बताए।
नेपाल र चीनबीचको प्राज्ञिक सहकार्यलाई आगामी दिनमा अझ विस्तार गर्दै सञ्चार तथा प्रविधिको क्षेत्रमा विद्यार्थीको ज्ञान र सीप अभिवृद्धि गर्ने कार्यक्रमलाई निरन्तरता दिइने विभागले जनाएको छ।