काठमाडौँ- विद्यालय शिक्षा ऐन-२०८० को मस्यौदा विद्यार्थी हितविपरीत भएकाे भन्दै अखिल (क्रान्तिकारी) ले देशभर आमशैक्षिक हड्तालको घोषणा गरेको छ। संगठनकाजनताको मौलिक हक र समान पहुँचको अधिकारको संरक्षण गर्नुको सट्टा शिक्षा प्रणालीलाई अझ बढी विभेदकारी र व्यापारिक बनाउने गरी ऐन ल्याउने तयारी भएकाले त्यस प्रतिरोधमा साउन २ गते एकदिने देशव्यापी शैक्षिक हड्तालको घोषणा गरिएको हो।
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले जारी गरेको अपिलमा विद्यार्थी, शिक्षक, अभिभावक, बुद्धिजीवी, सरोकारवाला तथा आम जनसमुदायलाई हार्दिक आह्वान गर्दै उक्त हड्तालमा भौतिक र नैतिक समर्थन जनाउन अनुरोध गरिएको छ।
संगठनका अनुसार शिक्षामा व्याप्त चरम विभेदको अन्त्य, निःशुल्क, समान र वैज्ञानिक शिक्षाको सुनिश्चितता, संविधान प्रदत्त शिक्षासम्बन्धी मौलिक हकको कार्यान्वयन, स्वदेशमै अध्ययन र रोजगारीको अवसरको विस्तार तथा राजनीतिक हस्तक्षेप, माफियाकरण र दलालीकरणको अन्त्य हड्तालको मूल उद्देश्य हो।
संगठनको अपिलमा भनिएको छ- शिक्षा ऐनले सामुदायिक विद्यालयको स्तरोन्नति, शिक्षक तथा विद्यालय कर्मचारीका समस्या समाधान र गुणस्तरीय शिक्षाको प्रत्याभूति गर्नुपर्ने हो तर प्रस्तावित मस्यौदाले यस्ता पक्षलाई बेवास्ता गरेको छ।
सोही कारणले संघर्ष अपरिहार्य बनेको जनाउँदै संगठनले साउन २ गतेको आन्दोलन निर्णायक र व्यापक बनाउन सबै पक्षसँग ऐक्यबद्धता जनाउन अपिल गरेको छ।