काठमाडाैँ - नेपाली कांग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौँ महानगरभित्रका विद्यालयमा बेथिति देखिएको भन्दै सुधारका लागि दबाव दिएको छ। संघले कक्षा ११ को भर्ना सुरु भइसकेको जनाउँदै काठमाडौँ महानगरपालिका भित्रका सामूदायिक तथा निजी विद्यालयमा बेथिति र अपारदर्शिता देखिएको जनाउँदै ७ बुँदे ज्ञापन पत्र बुझाएको हो।
काठमाडौँ महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई बुधबार ज्ञापन पत्र बुझाउँदै संघले महानगर शिक्षा ऐनमा संशोधनको माग गरेको छ। संघले समयमै छात्रवृत्तिको व्यवस्था गरिनुपर्ने, शुल्क फिर्ता सम्बन्धी स्पष्ट कार्यविधि हुनुपर्ने, संघीय कानुनअनुसार छात्रवृत्ति संख्या निर्धारण गरिनु पर्ने र निजी विद्यालयहरूमा शुल्क नियमनको समेत माग गरेको छ।
संघका प्रतिनिधिहरूले महानगरका मेयर र उपमेयरलाई समेत ज्ञापनपत्र बुझाएका थिए। ज्ञापन पत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईं संघले उठाएका मागहरू सम्बोधन गर्ने आश्वासन दिएका छन्।
संघले यसअघि ०८१ वैशाख ६ मा ७५३ वटै पालिकामा १८ बुँदे सुझावपत्र समेत बुझाएको थियो। उक्त सुझावहरुको कार्यान्वयन नहुँदा विद्यार्थीहरूको हक र पहुँच कुण्ठित भएको संघको दाबी छ। ज्ञापन बुझाउने टोलीमा नेवि संघका केन्द्रीय सदस्यहरू विनोद राज जोशी र परोपकार अधिकार प्रतिनिधिका रूपमा सहभागी थिए। उनीहरू ‘मेरो शिक्षा, मेरो प्रश्न’ अभियानअन्तर्गत काठमाडौं क्षेत्रका समन्वयकर्ता हुन्।
यस्तो छ नेवि संघको ७ बुँदे माग :
१. कक्षा ११ को छात्रवृत्ति परीक्षा तत्काल सञ्चालन गरी नतिजा समयमै सार्वजनिक गर्नुपर्ने,
२. छात्रवृत्तिमा छनोट भएका विद्यार्थीहरूलाई शुल्क फिर्ता गराउने स्पष्ट कार्यविधि सार्वजनिक गर्नुपर्ने,
३. संघीय शिक्षा ऐनअनुसार छात्रवृत्ति संख्या सुनिश्चित गर्न विद्यालयहरूलाई निर्देशन दिनुपर्ने,
४. महानगर शिक्षा ऐन २०७५ का संघीय कानुन विपरित प्रावधानहरू तत्काल संशोधन गर्नुपर्ने,
५. निजी विद्यालयहरूले बढी शुल्क लिएको अवस्थामा नियमन र कारबाही प्रक्रिया अघि बढाउनुपर्ने,
६. छात्रवृत्ति प्रक्रिया पारदर्शी, प्राविधिक र विद्यार्थीमैत्री बनाउने व्यवस्था गर्नुपर्ने,
७. २०८१ वैशाख ६ गते बुझाइएको १८ बुँदे सुझावपत्रको मागहरू कार्यान्वयन गर्नुपर्ने,