काठमाडौँ - त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानमा १२ दिनदेखि पठनपाठन बन्द गरेर प्राध्यापकहरुबाट भईरहेको आन्दोलन स्थगित भएको छ। त्रिवि उपकुलपतिसहित पदाधिकारीले संस्थानको विकेन्द्रीकरण र स्वायत्तता कायम राख्ने प्रतिबद्धता जनाएपछि आन्दोलन रोकेर कक्षाकोठामा फर्कन लागेको हाे।
उपकुलपति दीपक अर्याललगायत त्रिवि पदाधिकारीले माग पूरा गर्ने आश्वसन दिएको आन्दोलन संयोजक प्राध्यापक संगीता सिंहले बताइन्। ‘आन्दोलनसँगै वार्ता र छलफलमा पनि थियौँ। त्रिविबाटै विकेन्द्रीकरण कायममै रहने वाचा आएपछि आन्दोलन रोकेका छौँ।’
संस्थानका प्राध्यापक असार २५ गतेदेखि पुल्चोकसहित ५ वटा क्याम्पसको पठनपाठन बन्द गरेर आन्दोलनमा उत्रिएका थिए। पठनपाठन बन्द गरिएको भन्दै विद्यार्थीलगायत सरोकारवालाबाट आलोचना हुँदै आएको थियो। त्रिविले स्वायत्तता र विकेन्द्रीकरणअर्न्तगत आर्थिक अधिकार खोसेको आरोप लगाउँदै प्राध्यापकले आन्दोलन थाल्दा पुल्चोक, थापाथली, पोखरा, धरान र चितवन इन्जिनियरिङ क्याम्पसको कक्षा सञ्चालन रोकिएको थियो। प्राध्यापक संघले नै आन्दोलनको नेतृत्व गरेको थियो।
संस्थानलाई २०५५ सालमा त्रिविले संस्थानलाई विकेन्द्रीकरण र स्वायत्तताको अधिकार दिएको थियो। त्यसविपरीत २०८० को त्रिवि सिनेटले आर्थिक अधिकार कटौती गरेको प्राध्यापक संघको भनाइ छ। आर्थिक, प्रशासनिक र शैक्षिक स्वायत्तता दिए पनि आर्थिक अधिकार कटौती भएपछि शैक्षिक र प्रशासनिक स्वायत्ततामा पनि असर पुगेको आन्दोलनरत पक्षको भनाइ थियो।
विकेन्द्रीकरण र स्वायत्तता अधिकार दिएका त्रिविका निकायले आर्थिक, प्रशासनिक र शैक्षिक गतिविधिमा थप स्वतन्त्रता प्राप्त गरेका हुन्छन्। २०८० को बजेट सिनेटले विकेन्द्रीकरण र स्वायत्ततासम्बन्धी नियमबाट पदाधिकारी, शिक्षक, कर्मचारीलाई प्रदान गरिएको प्रोत्साहन, पारिश्रमिक, र अन्य सुविधा कटौती गर्ने निर्णय गरेको थियो। उक्त निर्णयविपरीत इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक, कर्मचारीले गरेको खर्च लेखा परीक्षणमा बेरुजु देखिएको छ।
बेरुजु आएपछि उनीहरू आक्रोशित हुँदै आन्दोलनमा जुटेका थिए।स्वायत्तता र विकेन्द्रीकरण नियमअनुसार संस्थानले आर्थिक रूपमा आफैँ आम्दानी गर्न सक्ने र त्यसको ८० प्रतिशतसम्म खर्च गर्न पाउने व्यवस्था छ। त्यसअनुसार संस्थानले आत्मनिर्भर शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ। जसमा पूर्णशुल्कीय कार्यक्रम, नियमित (कम शुल्कमा) इन्जिनियरिङको पढाइ हुन्छ। स्नातकोत्तर, विद्यावारिधि पनि सोही कार्यक्रमअन्तर्गत सञ्चालन भएका छन्।