काठमाडाैँ - नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले ११ दिनदेखि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालको कार्यकक्षमा धर्ना दिएको छ। अखिल क्रान्तिकारी त्रिवि कार्यबाहक अध्यक्ष शिवराज भट्टका अनुसार शुल्क शोषण विरुद्ध धर्ना दिएको हो।
‘चार वटा सेल्फ सस्टेन कार्यक्रमलाई केन्द्रीय विभागमा गाभेर पनि शुल्क घटाइएको छैन,’ उनले भने, ‘धर्नामा बसेको ११ दिन भयो सम्बोधन भएको छैन।’ अन्तर्राष्ट्रिय सम्बन्ध, द्वन्द्व र शान्ति, सामाजिक कार्य, लैङ्गिकता सम्बन्धी अध्ययन कार्यक्रमलाई ९ महिना अघि केन्द्रीय विभागमा गाभिएको थियो । तर शुल्क भने पुरानै शैलीमा उठाएकाले घटाउन माग गर्दै विद्यार्थीले धर्ना दिएका हुन्।
‘पहिले प्राइभेट प्रोग्राम थियो। ९ महिना अघि केन्द्रीय विभागमा ल्याइयो। तर शुल्क भने पुरानै जसरी उठाइएको छ। केन्द्रीय विभागमा आएपछि शुल्क घटाउन माग गरेका हौँ,’ भट्टले भने।आन्दोलनरत विद्यार्थी संगठनले शिक्षक कर्मचारी र भौतिक संरचनाको व्यवस्थापन गर्न माग गरेको छ। ‘शिक्षक कर्मचारीको व्यवस्थान भएको छैन। त्रिविले सहयोग नगरेकाले धर्ना दिएका हौँ,’ उनले भने।
विद्यार्थी धर्नाका कारण उपकुलपति अर्याल कार्यकक्षमा गएका छैनन्। ‘पहिलो दिन उपकुलपति सर आउनु भएको थियो। त्यसपछि आउनु भएको छैन,’ उनले भने।
त्रिवि पदाधिकारीले आफूहरूलाई वार्तामा नबोलाएको उनले बताए। ‘भीसी सरले रेक्टर र रजिस्ट्रारको कार्यालय खोल्नका लागि भन्नु भयो। हामीले खोल्यौँ। तर त्यसपछि वार्तामा बोलाउनु भएको छैन,’ उनले भने।दुई दिनभित्र माग सम्बोधन नभए आमरण अनसन बस्ने चेतावनी क्रान्तिकारीले दिएको छ।