काठमाडाैँ - पूर्वाञ्चल विश्वविद्यालयले रिक्त तीन वटै संकायमा डीन नियुक्त गरेको छ। नवनियुक्त तीनै जना डीनले आइतबार पदभार ग्रहण गरेका छन्। कला, शिक्षा, कानुन संकायको डीनमा जनसङ्ख्या विकास केन्द्रका सहप्राध्यापक डा. कोमल प्रसाद दुलाल नियुक्त भएका छन्।
त्यसैगरी, विज्ञान तथा प्रविधि संकायको डीनमा प्रा. डा. पवन कुमार झा र इञ्जिनियरिङ संकायको डीनमा प्रा. डा. भोला नाथ शर्मा घिमिरे नियुक्त भएका हुन्। झा पूर्वाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस कलेज अफ साइन्स एण्ड टेक्नोलोजीमा कार्यरत प्राध्यापक हुन्।
घिमिरे त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस पुल्चोक इञ्जिरिङ क्याम्पसमा कार्यरत प्राध्यापक हुन्। पदभार ग्रहण समारोहलाई सम्बोधन गर्दै उपकुलपति प्रा.डा. बिजु कुमार थपलिया र रजिष्ट्रार प्रा. डा. कल्याणी मिश्र त्रिपाठीले नव नियुक्त डीनहरूको कार्यकाल सफलताको कामना गर्दै उनीहरूको कार्यकालमा विश्वविद्यालयले नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरे।
नव नियुक्त डीन डा. दुलालले आफ्नो २२ वर्षको प्राज्ञिक अनुभवलाई विश्वविद्यालयको शैक्षिक उन्नयन र गरिमा बढाउन प्रयोग गर्ने प्रतिबद्धता जनाए। डीनद्वय झा र घिमिरेले विश्वविद्यालयको शैक्षिक विकासमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए।
पदभार ग्रहण समारोहमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजुकुमार थपलिया, रजिष्ट्रार प्रा. डा. कल्याणी मिश्र त्रिपाठी, चिकित्सा विज्ञान संकायका डीन डा. शैलेशमणी पोखरेल, कला, शिक्षा, कानुन संकायका डीन राम प्रसाद ढकाल, प्राध्यापक संघका सभापति यज्ञप्रसाद जम्मरकट्टेल, ईञ्जिनियर संकायका सहडीन ई. हेमन्त कुमार गोइत, कर्मचारी संघका सभापति रुपेश बस्नेत लगायतको उपस्थिति थियो।