काठमाडौँ - त्रिभुवन विश्वविद्यालयमा अध्ययन बिदाकाे दुरुपयाेग गर्ने प्राध्यापकले रकम फिर्ता गर्न थालेका छन्। अध्ययनमा गएर नफर्किने र अध्ययन पूरा नगर्ने शिक्षक कर्मचारीलाई गत असार २९ मा त्रिविले ब्याजसहित रकम फिर्ता गर्न ३५ दिनकाे अल्टिमेटम दिएको थियो। यो अवधिमा ५ जनाले रकम फिर्ता गरेका छन् भने ६० जनाभन्दा बढी तिर्नको लागि सम्पर्कमा आएका छन्।
त्रिवि कर्मचारी प्रशासन महाशाखा स्रोतका अनुसार ५ जनाबाट १ करोड ६७ लाख बढी रकम उठेको छ। उपप्राध्यापकहरू मित्रमणि सुवेदीले ४३ लाख १४ हजार, हिमा कुमारी राउतले ४४ लाख ७३ हजार, रिना श्रेष्ठले ९ लाख ७५ हजार, पुष्पराज आचार्यले ३६ लाख ५२ हजार र ज्ञानप्रसाद गौतमले ३३ लाख ४२ हजार फिर्ता गरेका छन्। रकम फिर्ता गर्नेमा अधिकांश अध्ययन बिदामा गएर नफर्किएकाहरू हुन्। रिना श्रेष्ठ भने फर्केर पनि पूरा अवधि सेवा नगरेकी हुन्।
त्रिविका प्राध्यपकले ५ वर्षसम्मको अध्ययन बिदा पाउने नियम छ। त्रिविको शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० मा ३ वर्षभन्दा बढी ५ वर्षसम्मको अध्ययन बिदा उपभोग गरेका शिक्षकले फर्केर कम्तीमा ५ वर्ष सेवा गर्नुपर्ने उल्लेख छ। यदि ३ वर्षको अध्ययन बिदा उपभोग गरेमा कम्तीमा ३ वर्ष विश्वविद्यालयको सेवामा रही काम गर्नुपर्ने नियम छ।
त्रिविका शिक्षक कर्मचारी नफर्किएमा वा अध्ययन पूरा गर्न नसकेमा बिदामा बस्दा खाएको तलब भत्ता फिर्ता गर्ने भनी शिक्षकले कबुलियत गरेका हुन्छन्। खाईपाई आएको तलबभत्ता फिर्ता नगरेमा जायजेथाबाट असुल गर्नु भनी ३ जना साक्षी राखेर कबुलियत समेत गरिएको हुन्छ। तर अध्ययन बिदामा गएका धेरै प्राध्यापकले कुनैपनि नियम पालना गर्दैनन्।
त्रिविको नियममा शिक्षक लगातार ९० दिनसम्म विनासूचना क्याम्पस वा कार्यालयमा अनुपस्थित रहेमा सेवाबाट हटाउने वा बर्खास्त गर्न सकिने भनिएको छ। तर कुनै कारबाही भएको थिएन।
यसरी बिदाको दुरुपयोग गर्ने शिक्षकबाट त्रिविले रकम असुली गर्न लागेको हो। त्रिविका रजिस्ट्रार केदारप्रसाद रिजालका अनुसार दुरुपयोग गर्ने शिक्षक कर्मचारी धमाधम पैसा तिर्न आइरहेका छन्। पैसा नतिरी राजीनामा स्वीकृत नगर्ने भएकाले पनि बिदामा बस्दा खाएको तलब भत्तामा १० प्रतिशत ब्याज जोडेर फिर्ता गर्न प्राध्यापकहरू आइरहेका हुन्।