काठमाडाैँ - त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदाको दुरुपयोग गर्ने प्राध्यापक र कर्मचारीबाट रकम फिर्ता गराउन हेल्प डेस्क स्थापना गरेको छ। त्रिविको कार्यकारी परिषद्ले बुधबार हेल्प डेस्क स्थापना गर्ने निर्णय गरेको हो। त्रिविका उपप्राध्यापक डा. जीवन काफ्लेको संयोजकत्वमा हेल्क डेस्क स्थापना गरिएको हो। यसअघि अध्ययन बिदा लिएर गएका प्राध्यापक विदेशमै लुक्ने गरेको समाचार प्रकाशित भएपछि खोजबिन गर्न काफ्लेकै संयोजकत्वमा खोजबिन समिति बनाइएको थियो।
समितिले खोजबिन गरी प्रतिवेदन बुझाइ सकेको छ। उक्त प्रतिवेदनलाई कार्यान्वयन गर्न हेल्क डेस्क स्थापना गरिएको हो। उपकुलपति प्रा.डा दीपक अर्यालका अनुसार मापदण्ड पनि बनाइएको छ।
‘तीन वर्ष बिदामा बसेको छ भने कति तलब खाएको छ त्यो सम्बन्धित क्याम्पसले दिएको विवरण अनुसार १० प्रतिशत ब्याज जोडेर फिर्ता गर्नुपर्छ। चक्रिय ब्याज भने लाग्दैन,’ उपकुलपति अर्यालले भने, ‘यदि फर्केर तीन वर्ष काम गरेको छ भने फिर्ता गर्नुपर्दैन।’
अध्ययन बिदा सकिएपछि राजीनामा स्वीकृति गराएको छ भने राजीनामा स्वीकृत गरेको मितिसम्म्को मात्र पैसा फिर्ता लिने निर्णय पनि त्रिविले गरेको छ। त्रिविका प्राध्यपकले ५ वर्षसम्मको अध्ययन बिदा पाउने नियम छ। त्रिविको शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० मा ३ वर्षभन्दा बढी ५ वर्षसम्मको अध्ययन बिदा उपभोग गरेका शिक्षकले फर्केर कम्तीमा ५ वर्ष सेवा गर्नुपर्ने उल्लेख छ। यदि ३ वर्षको अध्ययन बिदा उपभोग गरेमा कम्तीमा ३ वर्ष विश्वविद्यालयको सेवामा रही काम गर्नुपर्ने नियम छ।
त्रिविका शिक्षक कर्मचारी नफर्किएमा वा अध्ययन पूरा गर्न नसकेमा बिदामा बस्दा खाएको तलब-भत्ता फिर्ता गर्ने भनी शिक्षकले कबुलियत गरेका हुन्छन्। खाइपाइ आएको तलब-भत्ता फिर्ता नगरेमा जायजेथाबाट असुल गर्नु भनी ३ जना साक्षी राखेर कबुलियत समेत गरिएको हुन्छ।
बिदाको दुरुपोयोग गरेका शिक्षक र्काचारी धमाधम पैसा फिर्ता गर्न आइरहेका छन्। ‘त्रिविमा सम्पर्क गरेर पैसा बोकेर फिर्ता गर्न आइरहनु भएको छ। ५०-६० जनाले सम्पर्क गरिरहनु भएको छ,’ उपकुलपति अर्यालले भने।
अध्ययन बिदा लिएको तर अध्ययन पूरा नगरेकाको हकमा सिनेटबाट कानुन बनाउने निर्णय पनि कार्यकारीले गरेको छ। ‘अध्ययन बिदा लिएको तर पूरा नगरेकाको हकमा सिनेटबाट कानुन बनाउने निर्णय भएको छ,’ उपकुलपति अर्यालले भने। अध्ययन बिदाको दुरुपयोग गर्नेबाट रकम असुल उपर गर्ने त्रिविले जनाएको छ। अध्ययनमा गएर नफर्किने र अध्ययन पूरा नगर्ने शिक्षक कर्मचारीलाई गत २९ असारमा त्रिविले ब्याजसहित रकम फिर्ता गर्न ३५ दिनको अल्टिमेटम दिएको थियो। यो अवधिमा ५ जनाले रकम फिर्ता गरेका छन्। ५ जनाबाट १ करोड ६७ लाख बढी रकम उठेको छ।
नफर्किएका र अध्ययन पूरा नगरेका शिक्षक कर्मचारीबाट २ अर्ब बढी रकम त्रिविले उठाउनु पर्ने छ। त्यसका लागि त्रिविले हेल्प डेस्क स्थापना गरेको हो। अध्ययन बिदामा गएर नफर्किने र अध्ययन पूरा नगर्ने दुबैको अनुसन्धान पनि यही डेस्कबाट हुनेछ। बिदामा रहेकाले उतैबाट रकम फिर्ता गर्न पाउने सुविधा पनि त्रिविले दिने भएको छ।
यसरी फिर्ता आएको रकम निवृत्तिभरण कोषमा राख्ने त्रिविले जनाएको छ। बिदाको दुरुपयोग गर्नेमा मानविकी तथा सामाजिकशास्त्र संकायमा ११४ जना, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा १०६ जना र इन्जिनियरिङ अध्ययन संस्थानमा ९९ जना छन्।
त्यसैगरी, वन विज्ञान अध्ययन संस्थानमा २८ जना, कृषि र पशु विज्ञान अध्ययन संस्थानमा १३ जना, चिकित्साशास्त्र अध्ययन संस्थानमा ९ जना, शिक्षाशास्त्र संकायमा ९ जना, व्यवस्थापन संकायमा १९ जना र कानुन संकायमा १ जना प्राध्यापक रहेका छन्। छानबिन समितिले तयार पारेको प्रतिवेदनमा नफर्किएका १९१ जना र बिदा लिएर अध्ययन पूरा नगर्नेमा २०७ जना गरी ३९८ जना प्राध्यापक छन्।