काठमाडाैँ- त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहमा पढाइ हुने नेपाली विषयको पाठ्यक्रम परिमार्जन गर्ने निर्णय गरेको छ।
नेपाली विषयको पाठ्यक्रम निर्माण गर्दा तत्कालीन विषय समितिका प्रमुखलगायतले पूर्वाग्रही र निषेधात्मक प्रणाली अवलम्बन गरेको तथा आफ्नै कृतिका विषयसूची हुबहु नयाँ पाठ्यक्रममा समावेश गरेको आरोप लागेपछि पाठ्यक्रम नै परिमार्जन गर्ने निर्णय गरिएकाे हाे।
यस विषयमा अध्ययन गर्दा पाठ्यक्रम निर्माणका क्रममा त्रुटि देखिएपछि उपकुलपतिको अध्यक्षतामा रहने विद्या परिषद् र डिनको अध्यक्षतामा रहने प्राज्ञिक परिषद्ले तत्काल पाठ्यक्रम परिमार्जन गर्न केही दिनअघि नेपाली केन्द्रीय विभागलाई निर्देशन दिएको छ। त्रिवि नेपाली केन्द्रीय विभागका प्रमुख प्राडा कृष्ण न्यौपानेले हाल कार्यान्वयनमा रहेका पाठ्यक्रमको एक चक्र पूरा हुन दिने र स्नातकोत्तर तहको पहिलो सेमेस्टरमा अब नयाँ भर्ना हुने विद्यार्थीका लागि परिमार्जित पाठ्यक्रम लागु गराउन लागिएको बताए।
उनले भने, 'विद्या परिषद् र प्राज्ञिक परिषद्बाट निर्णय गरेर हामीलाई निर्देशन आएको छ। आउने शैक्षिक सत्रदेखि परिमार्जित पाठ्यक्रम लागु गर्छौं।' दुवै परिषद्ले नेपाली केन्द्रीय विभागलाई तत्काल नयाँ पाठ्यक्रम लागु गर्न निर्देशन दिएको भए पनि सार्वजनिक रूपमा नकारात्मक सन्देश जाने हुनाले यसअघि भर्ना भएका विद्यार्थीलाई भने पुरानै पाठ्यक्रम अनुसार नै पढाइ समाप्त गर्न दिइने त्रिविले जनाएको छ।
स्नातकोत्तरमा नयाँ पाठ्यक्रम निर्माण गर्दा लैङ्गिक, वैचारिक र क्षेत्रीय समावेशीकरणविपरीत पूर्वाग्रही र निषेधात्मक रहेको आरोप लगाइएको थियो। साथै लोकतान्त्रिक र समावेशी सिद्धान्तको विरुद्धमा रहेको, नारीवादी दृष्टिकोणका साहित्यका स्थापित पाठ पाठ्यक्रमबाट हटाइएको, नेपाली साहित्यको मूल धारमा रहेको प्रगतिवादी धारालाई हटाइएको आरोपसहित संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उजुरी परेको थियो ।
समितिले उजुरीमार्फत लगाइएको आरोपमाथि एकसरो अध्ययन गर्दा गम्भीर प्रकृतिको देखिएपछि त्रिविलाई पत्राचार गरेको थियो। महिला साहित्यकार समूहका तर्फबाट समितिमा दिइएको निवेदनमा तत्कालीन नेपाली विषय समितिका अध्यक्ष प्राडा खगेन्द्रप्रसाद लुइटेलको ‘डायस्पोराको सैद्धान्तिक स्वरूप (२०७९)’ कृतिको विषयसूची हुबहु सारिएको आरोप लगाइएको थियो।
निवेदनसँगै पेस गरिएको प्रमाण अध्ययन गर्दा लुइटेलको पुस्तकमा समावेश गरिएका र स्नातकोत्तर तहमा पढाइ हुने ‘आप्रवासी नेपाली साहित्य (६०५.३)’ शीर्षकको पाठ्यक्रममा समावेश गरिएका विषयवस्तुको विषय हुबहु मिलेको देखिन्छ। लुइटेल त्रिवि नेपाली केन्द्रीय विभागका पूर्वप्रमुखसमेत हुन्।