काठमाडाैँ - त्रिभुवन विश्वविद्यालयले ग्रामिण विकास केन्द्रीय विभागलाई ‘विकास अध्ययन’ मा रुपान्तरण गर्ने तयारी गरिरहेको छ। सो अनुरुप ग्रामिण विकासलाई ग्रामिण क्षेत्रमा मात्र सीमित नराखी विकास अध्ययनले सहरीकरण तथा विश्वव्यापीकरणका आयाम र विकाससम्बन्धी पक्षहरू समेट्ने भएकाले त्रिविले विभागलाई रुपान्तरण गर्ने तयारी गरेको हो।
ग्रामीण विकासले मुख्यत सीमित भौगोलिक क्षेत्र र सामाजिक विषयलाई मात्र समेट्ने भएकोले व्यापक र बहुआयामिक विकासका पक्षहरु समेट्ने गरि विकास अध्ययनमा रुपान्तरण गर्न लागिएको हो।त्रिवि अर्न्तगतको ग्रामीण विकास केन्द्रीय विभागका विभागीय प्रमुख डा. सुमन खरेलले ग्रामीण विकास सम्बन्धी विषयवस्तुलाई समेत निरन्तरता दिई विकास अध्ययन अन्तर्गत राखिने बताए। विश्वविद्यालयले विकास प्रक्रिया, सहरीकरण तथा विश्वव्यापीकरणका पक्षहरू समेत समेट्ने गरी विषय संरचना पुनः परिभाषित गर्ने उद्देश्य राखेको उनको भनाइ छ। ग्रामीण विकासले मुख्यत सीमित भौगोलिक क्षेत्र र सामाजिक विषयलाई मात्र समेट्ने भएकोले व्यापक र बहुआयामिक विकासका पक्षहरु समेट्ने गरि विकास अध्ययनमा रुपान्तरण गर्न लागिएको डा.खरेलले बताए।
यो विषय स्नातक तहमा ४ बर्षे र स्नाकोतर तहमा २ बर्ष ४ सेमेष्टर प्रणालीमा अध्यापन हुन्छ। विकास अध्ययन विषय अध्ययनको लागि स्नातक तहमा मान्यता प्राप्त शैक्षिक संस्थाबाट उत्तिर्ण भएका जुनसुकै विद्यार्थीले पनि भर्ना पाउँछन् तर स्नाकोत्तर तहमा विद्यार्थीले मान्यता प्राप्त शैक्षिक संस्थाबाट न्यूनतम तेस्रो श्रेणी अंक प्राप्त गरेको हुनुपर्दछ। यस विषयमा सिट संख्या भने निर्धारण गरिएको छैन। यस्तै विकास अध्ययनको लागी विश्वविद्यालयले १० प्रतिशत छात्रावृत्तिको व्यवस्था गरेको छ ।
ग्रामीण विकास केन्द्रीय विभागका उपप्रध्यापक रमेश न्यौपानेका अनुसार विकास अध्ययनको लागि स्नातक तहमा बार्षिक १ लाख रुपैँया लागत् लाग्नेछ। उनका अनुसार विकास अध्ययन अर्न्तगत सरकार विकास, समाज विकास, आर्थिक विकास, पर्यटन विकास लगायतका विषय अध्यापन हुन्छ।
किन पढ्ने विकास अध्ययन ?
विकास अध्ययन बहुआयामिक विषय हो। जसले समाज, अर्थतन्त्र, राजनीति, वातावरण, अन्तर्राष्ट्रिय सम्बन्ध, सार्वजनिक नीति, पर्यटन, लैङ्गिक समानता, दिगोपना लगायतका क्षेत्रहरूलाई समेट्छ। नेपाल विकासोन्मुख मुलुक भएकोले यस विषयमा भविष्य देख्न सकिन्छ। रोजगार, करियर र अवसरको हिसाबले पनि यस विषय विद्यार्थीको रोजाईमा पर्ने देखिन्छ।
विकास अध्ययन गरेका विद्यार्थीहरुले नेपालमा मात्र नभई विदेशी मुलुकहरुमा पनि प्रशस्त अवसर पाएको देखिन्छ ।यस बाहेक विकास अध्ययन गरेका विद्यार्थीहरुले लोकसेवा, एनजीओ, आइएनजीओ लगायतका सरकारी तथा गैरसरकारी क्षेत्रमा समेत रोजगारीका अवसर प्राप्त गर्दछन्।