काठमाडौँ - भ्रष्टाचार, अव्यवस्था र सामाजिक सन्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा (जेनजी)हरुले प्रदर्शन गरेका छन्। उनीहरु स्वत:स्फूर्त रुपमा देशभरका प्रमुख सहरहरूकाे चाेकचाेकमा प्रदर्शन गरेका हुन्। उनीहरूले काठमाडौँको माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका छन्।

उनीहरुले ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’, ‘कता हिँडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, स्टप करप्सन (भ्रष्टाचार रोक) लगायतका नारा लेखेका प्लेकार्ड बोकेका छन्।कतिपय युवाहरु कलेज र स्कुल पोशाकमा समेत देखिन्छन्।

पहिले सामाजिक सञ्जालका पोष्टमा मात्र सीमित सरकार र राजनीतिक दलका नेताविरुद्धको आक्रोशलाई जेनजी पुस्ताले सडकमा उतारेका हुन्। जेनजी पुस्तालाई विभिन्न राजनीतिक दल, जनप्रतिनिधि, कलाकार, विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्ति र स्वतन्त्र युवाहरुले समर्थन गरेका छन्। जेनजीले पार्टी निकटका भ्रातृ संस्थालाई आउन रोक लगाएका छन्।

मलाई बोल्न दे सरकार भन्दै बुटवलमा पनि जेनजीको प्रदर्शन
सामाजिक सञ्जाल बन्दको विरोधमा बुटवलमा जेनजी पुस्ताका युवाले प्रदर्शन गरेका छन् । उनीहरू भ्रष्टाचार, अव्यवस्था र अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारको नियन्त्रणकारी निर्णयविरुद्ध सडकमा उत्रिएका हुन्। बिहानैदेखि प्लेकार्ड र नाराबाजीसहित प्रदर्शनमा जुटेका युवाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा लगाएका छन्।

‘मलाई बोल्न दे सरकार’, ‘नेताका छोराछोरी विदेश पढ्छन्, जनताले पसिना बगाउँछन्’, ‘भ्रष्टाचार अन्त्य गर, सामाजिक सञ्जाल होइन’जस्ता नारा लगाएर उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।


वीरगन्जमा पनि जेनजीको प्रदर्शन
जेनजी पुस्ताले सोमबार देशभर सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा प्रदर्शन गरेका छन्।
