काठमाडाैँ - लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पछिल्लो समयमा गरिएको मेहनतले लुम्बिनी प्राविधिक विश्वविद्यालयप्रति नयाँ आशा पलाएको बताएका छन्। विश्वविद्यालयको सातौँ सिनेट बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्राविधिक विश्वविद्यालयले विद्यार्थीको आकर्षण बढाउन थालेपछि विश्वविद्यालयप्रति नयाँ आशा पलाएको उल्लेख गरेका हुन्।
उनले लुम्बिनी विश्वविद्यालयलाई उत्कृष्ट र नमूना संस्थाका रूपमा विकसित गर्न साझा प्रयास आवश्यक रहेको बताएका छन्। साथै उनले अझै पनि विश्वविद्यालयलाई जनस्तरसम्म पुर्याउन आवश्वक रहेको र यसमा सबैले मिलेर काम गर्नुपर्ने मुख्यमन्त्री आचार्यको भनाइ थियो।
लुम्बिनी प्राविधिक विश्वविद्यालय भौगोलिक रूपमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सङ्गमस्थल भएकाले यसले तीनवटै प्रदेशका विद्यार्थीलाई आकर्षित गर्न सक्ने क्षमता रहेको मुख्यमन्त्री आचार्यले बताए।
सिनेट बैठकमा प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले विश्वविद्यालयले विद्यार्थीमा विश्वास जगाउँदै दक्ष प्राविधिक जनशक्ति उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिए। बैठकमा विश्वविद्यालयका विभिन्न आर्थिक, शैक्षिक र प्रशासनिक विषयका प्रस्तावबारे छलफल गरिएको थियो।
आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन र आव २०८२/८३ को बजेट स्वीकृति, अध्ययन संस्थान तथा केन्द्रलाई आर्थिक व्यवस्थापन अधिकार प्रदान गर्ने, शिक्षक र कर्मचारी सेवा विनियममा संशोधन, करार कर्मचारी व्यवस्थापन कार्यविधि सुधार र कृषि, वन तथा पर्यटनका शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी प्रस्ताव समावेश थिए।