काठमाडौँ- नेपाल विद्यार्थी संघ (नेविसंघ)ले कक्षा १२ को परीक्षाका क्रममा देशका विभिन्न केन्द्रमा देखिएको लापरवाहीप्रति कडा आपत्ति जनाउँदै सुधारका लागि राष्ट्रिय परीक्षा बोर्डको ध्यानाकर्षण गराएको छ।
कार्यवाहक अध्यक्ष नविन पौडेल नेतृत्वको टोलीले भक्तपुरको सानोठिमीस्थित बोर्ड कार्यालय पुगेर ज्ञापनपत्र बुझाएको हो।ज्ञापनपत्रमा परीक्षा व्यवस्थापनमा देखिएको गैरजिम्मेवारपूर्ण गतिविधिको घोर भर्सना गरिएको छ।
संघका अनुसार यस्ता घटनाले विद्यार्थीको मौलिक शैक्षिक अधिकारमा प्रत्यक्ष असर परेको छ।विशेषगरी चितवनको इन्टरनेशनल कलेज परीक्षा केन्द्रमा नेपाली विषयको परीक्षाका क्रममा सुनगाभा कलेजका विद्यार्थीमाथि अन्यायपूर्ण व्यवहार भएको उल्लेख गरिएको छ।
प्रश्नपत्र छपाइमा ढिलाइ हुँदा परीक्षा बिहान ८ः३१ बजे सुरु गरिएको तर निर्धारित तीन घण्टा समय नदिई ११ः१३ बजे नै उत्तरपुस्तिका संकलन गरिएको नेविसंघको दाबी छ।
यसरी १७ मिनेट अगावै परीक्षा सकिँदा विद्यार्थीहरू आफ्नो पूर्ण क्षमता प्रदर्शन गर्नबाट वञ्चित भएको बताइएको छ। नेविसंघले यस्तो समस्या चितवनमा मात्र सीमित नरही भैरहवा, काठमाडौंको बालकुमारी कन्या कलेज, नुवाकोटलगायत विभिन्न परीक्षा केन्द्रमा पनि दोहोरिएको जनाएको छ। यसले समग्र परीक्षा प्रणालीको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको संघको भनाइ छ।
संघले दोषीमाथि कडा कारबाही, पीडित विद्यार्थीलाई न्याय र परीक्षा व्यवस्थापनमा देखिएका कमजोरी तत्काल सुधार गर्न माग गरेको छ। साथै प्रश्नपत्र वितरणमा हुने ढिलाइ अन्त्य, प्रभावकारी अनुगमन प्रणाली विकास र परीक्षा केन्द्रहरूमा जिम्मेवारी तथा पारदर्शिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ।
नेविसंघले विद्यार्थीलाई भयमुक्त, निष्पक्ष र सहज वातावरणमा परीक्षा दिन पाउने अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायसँग आग्रह गर्दै मागहरू बेवास्ता गरिए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।