काठमाडौँ- संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (WFP), लायन्स क्लब इन्टरनेसनल फाउन्डेसन (LCIF) र वर्ल्ड फुड प्रोग्रामले नेपालका विद्यालय दिवा खाना कार्यक्रमलाई थप प्रभावकारी र दिगो बनाउन रणनीतिक साझेदारीको घोषणा गरेका छन्।
बालबालिकाको पोषण अवस्था सुधार्ने, शैक्षिक उपलब्धि बढाउने तथा स्थानीय खाद्य प्रणालीलाई सुदृढ गर्ने उद्देश्यसहित नमुना कार्यक्रमका रूपमा यो साझेदारी अघि बढाइएको हो। एक मिलियन अमेरिकी डलर बराबरको लगानीमा सञ्चालन हुने कार्यक्रमबाट देशभरका करिब ७० हजार विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ। कार्यक्रमले विद्यालय, साना किसान तथा सरकारी निकायबीचको समन्वयलाई समेत मजबुत बनाउने विश्व खाद्य कार्यक्रमले जनाएको छ।
कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलले विद्यालयमै उत्पादन गरिएका खाद्य सामग्रीमा आधारित दिवा खानाले विद्यार्थीको नियमित उपस्थिति, स्वास्थ्य तथा सिकाइ उपलब्धिमा सकारात्मक प्रभाव पार्ने बताए।
उनले यस साझेदारीको निरन्तरताले विद्यालय दिवा खाना कार्यक्रमलाई थप दिगो, स्थानीय स्रोतमा आधारित र राष्ट्रिय विकास प्राथमिकतासँग जोडिएको प्रणालीका रूपमा विकास गर्न सहयोग पुग्ने विश्वास पनि व्यक्त गरे। विश्व खाद्य कार्यक्रमका नेपालका देशीय निर्देशक रियाज लोधीले साझेदारीमार्फत सामुदायिक विद्यालयका विद्यार्थीलाई ताजा, पौष्टिक तथा स्थानीय रूपमा उत्पादित खाद्य सामग्री उपलब्ध गराउन महत्त्वपूर्ण योगदान पुग्ने बताए।
लायन्स क्लब इन्टरनेसनल फाउन्डेसनका अध्यक्ष फाब्रिसियो ओलिभेराले स्थानीय किसान, विद्यालय र समुदायलाई सशक्त बनाउँदै बालबालिकालाई गुणस्तरीय तथा पौष्टिक विद्यालय भोजन उपलब्ध गराउने लक्ष्य रहेको उल्लेख गरे।