काठमाडौँ – विद्यालयमा सञ्चालन हुँदै आएको राष्ट्रिय दिवा खाजा कार्यक्रमसम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको छ। नेपाल सरकार र संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा खाद्य सुरक्षा, पोषण, शिक्षा, जलवायु उत्थानशीलता तथा सामाजिक सुरक्षासम्बन्धी उपलब्धिहरू समेटिएको प्रतिवेदन सार्वजनिक गरिएको हो।
प्रतिवेदन सार्वजनिक कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणकर भट्ट, सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री बेलबहादुर राना मगर, नेपालका लागि फिनल्याण्डका राजदूत पेट्री पुहाक्का, अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बोम, शिक्षा मन्त्रालयका सहसचिव शिवकुमार सापकोटा तथा डब्लुएफपीका नेपालस्थित देशीय निर्देशक रियाज लोधीलगायतको उपस्थिति रहेको थियो।
प्रतिवेदनअनुसार नेपालमा सन् १९६७ मा सुरु भएको विद्यालय दिवा खाजा कार्यक्रम हाल देशका ७७ वटै जिल्लामा विस्तार भइसकेको छ। कार्यक्रमबाट हाल करिब ३० लाख विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भइरहेका छन्। विद्यालय भर्ना वृद्धि, नियमित उपस्थितिमा सुधार तथा विद्यार्थीको सिकाइ उपलब्धिमा सकारात्मक प्रभाव परेको प्रतिवेदनले औँल्याएको छ।
प्रतिवेदनमा स्थानीय समुदाय, सहकारी तथा साना किसानसँग विद्यालयलाई जोडेर स्थानीय उत्पादनमा आधारित दिवा खाजा उपलब्ध गराउने अभ्यासले बालबालिकाको पोषण अवस्था सुधार गर्नुका साथै स्थानीय अर्थतन्त्रलाई समेत बलियो बनाउन सहयोग पुगेको उल्लेख गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणकर भट्टले बालबालिकामा गरिने लगानी राष्ट्रको दीर्घकालीन विकासको आधार भएको बताए। उनले शिक्षा, पोषण, कृषि र स्थानीय आर्थिक विकासलाई एकीकृत रूपमा अघि बढाउन विकास साझेदारको निरन्तर सहयोग आवश्यक रहेको धारणा राखे।
नेपालका लागि फिनल्याण्डका राजदूत पेट्री पुहाक्काले विद्यालय दिवा खाजा कार्यक्रमले बालबालिकाको शिक्षामा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै यसलाई सफल साझेदारीको उत्कृष्ट उदाहरणका रूपमा व्याख्या गरे। अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बोमले पनि नेपालको यस कार्यक्रमप्रति आफ्नो मुलुकको सहयोग आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री बेलबहादुर राना मगरले दिवा खाजा कार्यक्रमले बालबालिकामा कुपोषण, पड्केपन र रक्तअल्पताको समस्या न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेलेको तथा विद्यालयमा सिकाइ निरन्तरतामा सकारात्मक प्रभाव पारेको बताए।
त्यसैगरी, डब्लुएफपीका नेपालस्थित देशीय निर्देशक रियाज लोधीले नेपाल सरकार, विकास साझेदार र स्थानीय समुदायसँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै खाद्य सुरक्षा, पोषण सुधार तथा मानव पुँजी विकासमा थप योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे।